'निर्वाचन लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसर'

विहीबार, ०८ माघ २०८२

काठमाडौँ । जेनजी अभियन्ताले आसन्न निर्वाचन मुलुकमा विधिको शासन र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने ऐतिहासिक अवसर भएको बताएका छन् 

उनीहरूले लोकतन्त्र, सुशासन, विकास र राष्ट्रिय एकता सुदृढीकरणका लागि निर्वाचन सफल बनाउनु सबैको साझा दायित्वका रूपमा रहेको धारणा राखे ।

जेनजी अभियान्ता सुप्रिया शाहीले सचेत मतदाताको सक्रिय र अर्थपूर्ण सहभागिताबाट स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न भई सक्षम र जिम्मेवार जनप्रतिनिधि चयन हुनेमा विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, “जेनजी पुस्ताले देशमै अवसर खोजिरहेका छन्, निर्वाचनपछि गठन हुने सरकारले सुशासन, पारदर्शीता र जवाफदेहितासहितको शासकीय अभ्यास गर्नुपर्छ ।”

अभियन्ता अर्णव चौधरीले युवापुस्ताले उठाउँदै आएका मुद्दालाई निर्वाचनपछि बन्ने सरकारले आत्मसात् गर्ने विश्वास व्यक्त गरे । उनले निष्पक्ष, शान्तिपूर्ण र विविधताको सम्मान हुने गरी व्यापक जनसहभागितासहित निर्वाचन सम्पन्न गर्न सम्पूर्णले सहयोग गर्नुपर्नेमा जोड दिए।

राजनीतिक दलहरूले आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने र समानुपातिक निर्वाचनमा संविधानको मर्मअनुसार उम्मेदवार छनोट गर्नुपर्ने चौधरीको भनाइ छ ।

निर्वाचनपछि गठन हुने सरकारले भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, आधुनिक शिक्षा प्रणाली, लैङ्गिक समानता, सामाजिक न्याय, वातावरण संरक्षण, स्वदेशमै रोजगारी र ‘डिजिटलाइज्ड’ सार्वजनिक सेवामा ध्यान दिनुपर्ने उनले बताए।

जेनजी फ्रन्टका सुदूरपश्चिम प्रदेशका संयोजक नवीन विष्टले निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै सबै नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “देशमा भ्रष्टाचार अन्त्य भई सुशासन कायम हुनुपर्ने र जेनजीका माग पूरा हुनुपर्छ । जेनजी जनआन्दोलन प्रतिनिधि र नेपाल सरकारबीच भएको सम्झौताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार