विराटनगर : नेपाली राजनीतिमा दशकौँदेखि भाषण र कागजमा सीमित समावेशिता, प्रतिनिधित्व र समान अधिकारको बहसलाई मोरङ–४ बाट दर्ता भएको एउटा अनौठो उम्मेदवारीले फेरि केन्द्रमा ल्याएको छ ।
समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बू यस वर्षको निर्वाचनमा नेपालकै एक मात्र प्रत्यक्ष तर्फको तेस्रो लिंगी उम्मेदवार बनेकी छन् । लिम्बू लामो समयदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक, आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारका लागि सक्रिय रहिएकी छिन् ।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा बढी राज्य संरचनाभित्रको बहिष्करणविरुद्धको प्रत्यक्ष चुनौतीको रूपमा प्रस्तुत गरेकी छन् । उनी भन्छिन्, ‘यो चुनाव मेरो व्यक्तिगत पहिचानको सवाल मात्र होइन । दशकौँदेखि अदृश्य बनाइएका समुदायको जीवन, अधिकार र भविष्यसँग जोडिएको न्यायको विषय हो । संसदमा हाम्रो उपस्थिति नहुँदासम्म नीति निर्माणमा हाम्रो वास्तविक पीडा कहिल्यै समेटिँदैन ।’
नेपालको संसदीय इतिहासमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व अत्यन्त सीमित छ । संविधानसभामा सुनीलबाबु पन्तको ऐतिहासिक उपस्थितिबाहेक संघीय संसदमा तेस्रो लिंगीको प्रत्यक्ष उपस्थिति हुन सकेको छैन । विश्लेषकहरूको मतमा लिम्बूको उम्मेदवारीले यही रिक्ततालाई भर्न खोजेको देखिन्छ ।
मोरङ–४ परम्परागत रूपमा प्रतिस्पर्धी क्षेत्र मानिन्छ । यस क्षेत्रमा पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता अमनलाल मोदी, नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेकपा ९एमाले०का केन्द्रीय सदस्य जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी लगायत २० जना उम्मेदवार मैदानमा छन् । मोदी यही क्षेत्रबाट जितेर तेस्रोपटक संसद छिर्न खोज्दैछन् ।
उम्मेदवारहरुमध्ये लिम्बूको उम्मेदवारीले चुनावी गणितभन्दा बाहिर गएर सामाजिक चेतना र समावेशिताको बहसलाई प्राथमिकता दिएको विश्लेषकहरूको निष्कर्ष छ ।
लिम्बूले विराटनगरमा पत्रकार सम्मेलन नै गरेर आफ्नो उम्मेदवारीको समर्थनका लागि गगन थापा, रवि लामिछाने, बालेन साह, पुष्पकमल दाहाल, केपी शर्मा ओली, राजेन्द्र लिङ्देन र कुलमान घिसिङलगायत देशका प्रभावशाली नेताहरूलाई सार्वजनिक रूपमा आह्वान गरेकी छन् ।
उनी भन्छिन्,‘समावेशिता कुनै दलको एजेन्डा होइन । लोकतन्त्रको आधारभूत सर्त हो । लोकतन्त्रले सबै नागरिकलाई समान रूपमा देख्न र सुन्नुपर्छ ।’ स्थानीय मतदाताको प्रतिक्रिया मिश्रित छ ।
कतिपयले यसलाई नेपाली समाजको बदलिँदो चेतनाको संकेत ठानेका छन् भने कतिपयले अझै पूर्वाग्रह र असहजता व्यक्त गरेका छन् । तर, लिम्बू चुनौतीबाट डराउँदिनिन् । उनले स्पष्ट पारिन्, ‘पूर्वाग्रह तोड्नु नै मेरो राजनीतिक कदम हो । यदि म चुनावी मैदानमा उत्रिन डराएँ भने परिवर्तनको कुरा गर्नु बेइमानी हुन्छ ।’
विश्लेषकहरूका अनुसार लिम्बूको कदमले आगामी निर्वाचनलाई सत्ता प्रतिस्पर्धामा सीमित नराखी अधिकार, पहिचान र लोकतन्त्रको वास्तविक अर्थ उजागर गरेको छ । मोरङ–४ को नतिजा जे भए पनि तेस्रो लिंगी उम्मेदवारको यो ऐतिहासिक उपस्थिति नेपाली राजनीतिमा स्मरणीय रहने उनीहरुको भनाइ छ ।
समावेशिताको नारा धेरैले प्रयोग गरे पनि त्यसको मूल्य चुकाउन थोरैले तयार हुने राजनीतिक परिवेशमा लिम्बूको उम्मेदवारीले नेपाली लोकतन्त्रको साहस र ईमानदारीको परीक्षा लिइरहेको विश्लेषकहरूको मत छ ।
प्रतिक्रिया