इन्टरपोल महासभामा सहभागी हुन एआईजी अधिकारी नेतृत्वको टोली मोरक्को प्रस्थान

शनिबार, ०६ मंसिर २०८२

काठमाडौँ : इन्टरपोलको ९३औँ महासभामा सहभागी हुन नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी नेतृत्वको टोली शनिवार मोरक्को प्रस्थान गरेको छ।

इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा मङ्सिर ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआईजी अधिकारीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

एआईजी राजन अधिकारीसँगै महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्का पनि मोरक्को प्रस्थान गरेका छन्।

महासभामा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलका विभिन्न नीतिनिर्माण प्रक्रियाबारे सदस्य राष्ट्रहरूको सहभागितासहित छलफल हुनेछ। इन्टरपोलको कार्यकारिणी समितिका विभिन्न पदहरूको लागि निर्वाचन तथा मतदान पनि हुनेछ।

महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी हुनेछन् र इन्टरपोलका महत्त्वपूर्ण विषयमा मतदानमार्फत निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि मतदानमा भाग लिने कार्यक्रम रहेको छ।

एआईजी अधिकारी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट गर्नेछ। साथै, कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र युएईका प्रतिनिधिहरूसँग समसामयिक विषयहरू र अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार