विराटनगर : जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट ध्वस्त बनेको विराटनगरको बरगाछी चोकस्थित ट्राफिक लाइट चार महिनापछि पुनः सञ्चालनमा आएको छ । बिहीबारदेखि लाइट सञ्चालनमा आएपछि विराटनगरको मुख्य चोकमध्ये एक बरगाछी क्षेत्रमा सवारी आवागमन सहज बनेको छ ।
मोरङ ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार लामो समय ट्राफिक लाइट नचल्दा बरगाछी क्षेत्रमा सवारी जाम र दुर्घटनाको जोखिम बढेको थियो । मर्मत सम्भारपछि लाइट सञ्चालनमा आएसँगै ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।
“लाइट नहुँदा ट्राफिक प्रहरीलाई म्यानुअल रूपमा सवारी व्यवस्थापन गर्न निकै कठिन थियो,” न्यौपानेले भने, “अब स्वचालित प्रणाली चलेपछि दुर्घटना न्यूनीकरण र सवारी प्रवाह सहज हुने विश्वास छ ।”
भदौ २४ गते जेन–जी आन्दोलनको आवरणमा अराजक समूहले विराटनगरका विभिन्न चोकमा जडान गरिएका ट्राफिक लाइटमा तोडफोड र आगजनी गरेको थियो । बरगाछीसँगै रोडशेष चोक, जलजला चोक, घाँस चोक, कञ्चनबारी र तीनपैनीका ट्राफिक लाइटहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।
आन्दोलनका क्रममा ट्राफिक लाइटका पोलमा जडान गरिएका तार काटिनुका साथै एमसीबी, स्वीच बोर्ड, ब्याट्री र इन्भर्टरसमेत चोरी भएको पाइएको थियो । त्यसपछि विराटनगरका मुख्य चोकहरूमा सवारी व्यवस्थापन ट्राफिक प्रहरीको मिहिनेतमा मात्र निर्भर रहँदै आएको थियो ।
ट्राफिक लाइट नचल्दा विराटनगर बजार क्षेत्रमा सवारीको चाप अत्यधिक बढ्नुका साथै पैदल यात्रुका लागि समेत जोखिम बढेको प्रहरीको भनाइ छ । स्वचालित ट्राफिक प्रणाली बन्द हुँदा सहरको सवारी व्यवस्थापन अस्तव्यस्त बन्न पुगेको थियो ।
इन्स्पेक्टर न्यौपानेका अनुसार बरगाछीपछि अन्य चोकका ट्राफिक लाइट पनि क्रमशः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । क्षतिग्रस्त संरचना मर्मतका लागि ठूलो रकम खर्च हुने अनुमान गरिएको छ ।
कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रूपमा विराटनगरका ६ स्थानमा ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याएका थिए । ती लाइट पुनः सञ्चालनमा आएपछि विराटनगरको सवारी आवागमन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
इटहरीको ट्राफिक लाइट पनि सञ्चालनमा आइसकेको छ ।
प्रतिक्रिया