मोरङको चुनावी सरगर्मी : कुन क्षेत्रमा कति उम्मेदवार, कसको चुनौती कस्तो ?

विहीबार, ०८ माघ २०८२

विराटनगर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले मोरङको राजनीतिक माहोललाई उत्कर्षमा पुर्‍याएको छ । 

मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएसँगै ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्लामा कुल १ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनको माहोलले मोरङलाई कोशी प्रदेशकै चर्कोमध्येको एउटा राजनीतिक प्रतिस्पर्धा भएको जिल्लाका रूपमा चिनाएको छ । यसपटकको निर्वाचनलाई पुराना स्थापित दल र नेताहरूका लागि मात्रै नभएर नयाँ अनुहार र वैकल्पिक राजनीतिक शक्तिका लागि पनि निर्णायक मोडको रूपमा हेरिएको छ ।

मोरङ–१ मा १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ नेपाली कांग्रेसका कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो र नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै उम्मेदवार संगठनात्मक रूपमा बलिया मानिन्छन् । तर, यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का कुलप्रसाद साम्बा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का यज्ञमणि न्यौपानेको उपस्थितिले प्रतिस्पर्धालाई एकपक्षीय हुन दिएको छैन । विशेषगरी युवा मतदाता र पुराना दलप्रति असन्तुष्ट समूहको मत कसतर्फ जान्छ भन्ने कुराले यहाँको नतिजा निर्धारण गर्ने देखिन्छ ।

मोरङ–२ मा १७ जना उम्मेदवार रहेका छन् । कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल पुनः चुनावी मैदानमा फर्किनुलाई यस क्षेत्रमा चासो बढेको छ । उनको सामना गर्न एमालेले रंगेलीका निवर्तमान मेयर दिलिप बगडियालाई अघि सारेको छ । बगडियालाई स्थानीय तहमा काम गरेको अनुभवको आधारमा बलियो उम्मेदवार मानिएको छ । 

रास्वपाका कृष्णकुमार कार्की र नेकपाका चन्द्रवीर राईले पनि वैकल्पिक राजनीतिक एजेन्डा बोकेर चुनावी अभियान तीव्र बनाएका छन् । सीमा क्षेत्रका समस्या, कृषि र रोजगारी यहाँका प्रमुख चुनावी मुद्दा बनेका छन् ।

मोरङ–३ मा २१ जना उम्मेदवार छन् । विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका कांग्रेसका डा. सुनिल शर्मा आफ्नो अघिल्लो जितलाई निरन्तरता दिने प्रयासमा छन् । एमालेले स्थानीय पहिचान र संगठनलाई ध्यान दिँदै इरान राईलाई उम्मेदवार बनाएको छ । 

रास्वपाका गणेश कार्कीको उपस्थितिले यो क्षेत्र त्रिकोणात्मक प्रतिस्पर्धामा रूपान्तरित भएको छ । स्वास्थ्य, शिक्षा र उद्यमशीलता जस्ता विषय यहाँ मतदाताको प्राथमिकतामा देखिन्छन् । जसले उम्मेदवारको व्यक्तिगत कार्यसम्पादनलाई निर्णायक बनाउने संकेत गरेको छ ।

मोरङ–४ मा २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा नेता एवं पूर्वमन्त्री अमनलाल मोदी लगातार तेस्रो पटक जित निकाल्ने लक्ष्यसहित मैदानमा छन् । तर, कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र एमालेका जीवन घिमिरेले उनलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाले सन्तोष राजवंशीलाई उम्मेदवार बनाएर थारु र राजवंशी समुदायको मतलाई आकर्षित गर्ने रणनीति लिएको छ । यहाँ विकास निर्माण, समावेशिता र राजनीतिक स्थायित्वको बहस चुनावी केन्द्रमा छ ।

मोरङ–५ उम्मेदवार संख्याका हिसाबले सबैभन्दा धेरै भिड भएको क्षेत्र बनेको छ । यहाँ २२ जना उम्मेदवार मैदानमा छन् । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी योगेन्द्र मण्डल यसपटक आफ्नै दल राष्ट्रिय ऊर्जाशील पार्टी नेपालबाट प्रतिस्पर्धामा छन् । उनीसँगै नेकपाका शिवकुमार मण्डल, एमालेका मनोज अग्रवाल र कांग्रेसका फुलकुमार लालवानीबीच कडा टक्कर हुने देखिएको छ । 

रास्वपाकी आशा झाको उम्मेदवारीले महिला सहभागिता र नयाँ राजनीतिक शैलीको चर्चा पनि बढाएको छ । जातीय विविधता र व्यापारिक केन्द्रका मुद्दा यहाँ निर्णायक बन्ने अनुमान छ ।

प्रदेश राजधानी विराटनगरको मुख्य भाग समेटिएको मोरङ–६ मा २० जना उम्मेदवार रहेका छन् । यहाँ कांग्रेसका डा. शेखर कोइराला र एमालेका विनोद ढकालबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

कोइराला आफ्नो परम्परागत प्रभाव कायम राख्न चाहन्छन् भने ढकाल कांग्रेसको पुरानो किल्ला भत्काउने रणनीतिमा छन् । रास्वपाकी रुविना आचार्य र नेकपाका ओपेन्द्र रायले सहरी युवा र शिक्षित मतदातामाझ प्रभाव पार्ने प्रयास गरिरहेका छन् ।

७ लाख ८३ हजार मतदाता रहेको मोरङमा यसपटकको निर्वाचनले परम्परागत दलहरू अझै बलिया भए पनि उनीहरूको एकाधिकार चुनौतीमा परेको छ । हरेक क्षेत्रमा उम्मेदवारको उच्च संख्या, वैकल्पिक दलको उपस्थिति र नयाँ अनुहारको उदयले मोरङको चुनावलाई स्थानीय प्रतिस्पर्धासँगै समग्र नेपाली राजनीतिमा बदलिँदो जनमतको प्रतिबिम्ब बनाएको छ ।

फागुन २१ गते सम्पन्न हुने निर्वाचनको मतपरिणामले मात्रै पुराना शक्ति र नयाँ धारबीचको सन्तुलन कता मोडिन्छ भन्ने स्पष्ट पार्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार