काठमाडौँ : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले तयारीलाई तीव्र पारेको छ ।
अब चुनावको दिन आउन ९० दिन मात्र बाँकी रहेकाले राजनीतिक दलहरूले पनि आन्तरिक तयारीलाई तीव्रता दिएका छन्।
आयोगले निर्वाचन कार्यक्रमअन्तर्गत शनिबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रक्रिया सञ्चालन गर्न लागेको छ।
कार्यक्रमअनुसार मङ्सिर २१ गते बिहान १०ः०० बजे देखि अपराह्न ४ः०० बजेसम्म राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिएको दलहरूको सूची मङ्सिर २४ गते प्रकाशित गरिनेछ।
समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा पुस १३ र १४ गते बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म निर्धारण गरिएको छ। बन्दसूचीको अन्तिम प्रकाशन माघ ३० गते हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। सोही दिन उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ। उम्मेदवारीविरुद्ध उजुरी दर्ता गर्ने अवधि माघ ७ गते रहनेछ।
माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशन गरिनुका साथै उम्मेदवारलाई निर्वाचन चिह्न पनि प्रदान गरिनेछ।
प्रतिक्रिया