वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन सक्दैन : महामन्त्री घिमिरे

विहीबार, ०८ माघ २०८२

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन हुन नसक्ने स्पष्ट पारेका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री घिमिरेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र त्यसपछिका राजनीतिक गतिविधिका कारण वैशाखमा महाधिवेशन आयोजना गर्न सम्भव नभएको बताए । उनका अनुसार पार्टीले अब २०८३ साल पौष मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्ने गरी तयारी गर्नेछ ।

महामन्त्री घिमिरेले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर निर्वाचनमा होमिएको दाबी गरे । उनले निर्वाचनका लागि दीर्घकालीन सोच र स्पष्ट दृष्टिकोणसहित घोषणापत्र सार्वजनिक गरिने जानकारी दिए ।

यसैगरी, घिमिरेले आगामी संसदीय दलले सर्वसम्मत रूपमा पार्टी सभापति गगन थापालाई संसदीय दलको नेता चयन गर्ने दाबी गरे । “सभापति गगन थापा नै भावी प्रधानमन्त्री बन्नुहुन्छ,” उनले भने ।

महामन्त्री घिमिरेले राष्ट्रियसभा निर्वाचनका लागि पहिल्यै गठबन्धन भइसकेकाले त्यसले निरन्तरता पाउने बताए । तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भने कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट पार्दै निर्वाचन परिणामका आधारमा पछि गठबन्धन बन्न सक्ने संकेत गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार