झापा : नेपाली कांग्रेसकी तर्फबाट झापा क्षेत्र नं–२ की प्रतिनिधिसभा उम्मेदवार सरिता प्रसाईले मतदातालाई उम्मेदवारको अनुहारभन्दा पार्टीको चुनावचिन्ह ‘रुख’ हेरेर मतदान गर्न आग्रह गरेकी छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रसाईले यो निर्वाचन पार्टी र क्षेत्रको भविष्यसँग जोडिएको विषय भएको बताइन् । निर्वाचन जितेपछि क्षेत्रको विकासका लागि योजना ल्याउन र कार्यान्वयन गर्न सहज हुने उनको भनाइ थियो ।
“सबै एकजुट भएर मुख होइन, रुख हेरेर मतदान गरौँ,” उनले भनिन्, “यो निर्वाचन जितेपछि अन्य तहका निर्वाचन र विकासका कार्यक्रम अघि बढाउन पनि ठूलो बल पुग्छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन भए पनि पार्टी संवाद र सहमतिका माध्यमबाट एकताबद्ध भएको बताए । “यो निर्वाचन पार्टीका लागि जीवन–मरणको सवाल हो,” उनले भने, “हिजोका मतभेद बिर्सेर पार्टीका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नुपर्छ ।”
केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार उमा शिवाकोटीले विशेष महाधिवेशनका बेला पार्टी फुट्न सक्ने आशंका रहे पनि अहिले सबै पक्ष एक ठाउँमा आएको बताइन् । उनले पार्टीले दिएको जिम्मेवारी जुनसुकै भए पनि इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार प्रसाईको राजनीतिक यात्राबारे चर्चा गरिन् ।
भेलामा समानुपातिक उम्मेदवार मनु विश्वकर्मा, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला लगायत नेताहरूले पनि आ–आफ्ना धारणा राखेका थिए ।
भेला नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको अध्यक्षतामा सम्पन्न भएको हो । भेलाले मैनालीकै संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य, कोशी प्रदेश तथा झापा जिल्ला समितिका पदाधिकारी, प्रदेशसभा क्षेत्रीय सभापति, गाउँ–नगर सभापति, क्षेत्रीय सचिव तथा भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधि रहनेछन् ।
यसैगरी, किरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा लक्ष्मीप्रसाद आचार्य, सचिवमा रश्मिशेखर सुवेदी तथा गाउँ–नगर सभापतिले सिफारिस गरेका प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाबाट १० जना र २५ वटै वडाका वडा सभापति सदस्य रहने व्यवस्था गरिएको छ ।
घोषणापत्र तयारीका लागि कृष्ण हुमागाईंको संयोजकत्वमा विष्णु खरेल, रोशन सुवेदी, जीवन पोखरेल, दीपेन्द्र ढकाल, विनोद गौतम, कुलप्रसाद संग्रौला र कृष्ण थापा सदस्य रहेको समिति गठन गरिएको छ ।
त्यसैगरी निर्वाचनको आर्थिक व्यवस्थापनका लागि सजेश शिवाकोटीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको क्षेत्रीय समिति सचिव चन्द्र चुडालले जानकारी दिए । उनका अनुसार १९ सदस्यीय आर्थिक तथा अन्य समितिलाई आवश्यकता अनुसार पूर्णता दिइनेछ ।
प्रतिक्रिया