विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीलाई एकताबद्ध राख्न शान्त र सौम्य बाटो रोजेको स्पष्ट पारे ।
प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै उनले निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने बताए । विशेष महाधिवेशनमा सहभागि नभएको विषयमा प्रष्ट्याउँदै कोइरालाले आफू त्यसमा सहभागी भएको भए पार्टी फुट्ने अवस्था आउने दाबी गरे । “म विशेष महाधिवेशनमा गएको भए पार्टी फुट्थ्यो । पार्टी नफुटोस भनेर मैले बीचको बाटो लिएको हुँ । म त्यो हलमा गएको भए पार्टी दुई टुक्रा हुन्थ्यो,” उनले भने ।
विशेष महाधिवेशनलाई पार्टीको प्रक्रिया भन्दै उनले अहिले त्यो विषय समाप्त भइसकेको बताए । “यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला जी र म एकै ठाउँमा छौं, निर्वाचनको दौडमा संगै हिँडिरहेका छौं । त्यसैले अब महाधिवेशनको विषयतर्फ नजाऔं,” उनले भने ।
छलफलका क्रममा नेता कोइरालाले सांसदको भूमिकामा रहँदा नीति निर्माणदेखि जनताको जीवन सहज बनाउनेतर्फ केन्द्रित रहेको बताए । संसदमा रहँदा भ्रष्टाचारको विरुद्ध र सुशासनका पक्षमा निरन्तर आवाज उठाएको उल्लेख गर्दै उनले संसदभित्र र बाहिर दुवैतर्फ संघर्ष गरेको बताए ।
उनले मोरङ क्षेत्र नम्बर ६ का जनताको शिर राष्ट्रिय राजनीतिमा कहिल्यै झुक्न नदिएको दाबी गर्दै पार्टी फुटाएर अघि बढ्नु भन्दा पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प भएको बताए । पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व आफूहरुको भएकाले त्यसअनुसार बीचको बाटो अपनाएको उनको भनाइ थियो ।
कार्यकर्ता छलफलका क्रममा उनले विगतमा पार्टीभित्र भएका घटनालाई स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । निर्वाचनले मुलुकलाई निकास दिने भन्दै उनले यसपटक कांग्रेसलाई जिताउन सबै एकजुट भएर भूमिका खेल्नुपर्ने बताए ।
प्रतिक्रिया