एमाले बाँदरको पुच्छरझैँ : न लौरो, न हतियार !

मंगलबार, ११ कार्तिक २०८२

देशमा राजनीति राजनीतिक पार्टीप्रति चरम वितृष्णा देखिन्छ । यसमा प्रमुख पार्टीका केही प्रमुख नेताका गल्ती, कमजोरी र अपराध जनवितृष्णाका प्रमुख कारण देखिन्छन् । प्रायः जनता नेका र एमालेसहित अन्य प्रमुख पार्टी र नेताको नाम पनि सुन्न चाहँदैनन् । एमाले र नेका पार्टीका अधिकांश इमानदार, सिद्धान्तनिष्ठ, नैतिकवान् नेता कार्यकर्ता, बुद्धिजीवी र समाजसेवी पार्टी र तिनका नेताप्रति चरम असन्तुष्ट छन् र असन्तुष्टमध्ये केही मुझााएर र झोक्राएर बसेका छन् तर धेरैले पार्टी छाडेका छन् ।

यो लेखक आफैँ उपल्लो तहका नेताका चरम विकृतिबाट आजित भएर तीन पटक पार्टी परित्याग गर्न खोजेकै हो तर केही बदनाम नेताले यो मान्छे पार्टीमात्रै छाड्ने होइन मरे हुन्थ्यो भनेको थाहा भयो आफूबाहेक अरू कोही पनि फस्ट म्यान भएको दखिनसहने प्रवृत्तिका मान्छे अक्सर यस्ता हुँदा रहेछन् ।

सकारात्मक इष्र्या गर्न नजान्ने प्रायः उपल्ला तहका कुनै पनि पार्टीका नेताले नै राजनीति, पार्टी र पार्टी सिद्धान्तमा कालो दाग लगाएका छन् । यसले म मा भाग्ने होइन भिड्ने भावना जब्बर बन्यो । एमाले पार्टी र नेतासितको बढी सङ्गत भएकाले यिनकै बारेमा बोल्नु उचित होला र अहिलेको पार्टी नेतृत्वले आममातहत नेता र कार्यकर्तालाई आफैँ चारो खोजेर खान नसक्ने ब्वाइलर कुखुरो बनाएको देखिन्छ । मदनले भनेझैँ सिद्धान्तनिष्ठ, इमानी जनप्रिय नेता कार्यकर्ता र सङ्गठन बनाउन नै चाहेन । त्यसैले अहिले एमाले बाँदरको पुच्छर लौरो न हतियार झैँ भएको देखिन्छ । पानी र बानीमाथिबाट आउँछ र त्यसले तलतल त्यही शिक्षा र सन्देश फिँजाउँछ ।

नेतामा तीन बाक्सी जमेको मयल हटाउनुपर्छ भन्ने भारी दुष्मन हुने अनि चरम चाकरी गर्ने ढकाल, भट्टराई, थापा, रिमाल, दँगाली पोखरेल, बराल र ज्ञवाली थरी प्रियतम हुने ? पञ्चायतका कट्टर पक्षधरले पञ्चायतकै दाहसंस्कार गरेका होइनन् ? यस्ता कुरा नेका पार्टीमा पनि देखिएकै हो तर नेका पार्टीका नेता र कार्यकर्ताहरू पार्टीका नेताको आलोचना खुल्ला रूपमा गर्न पाउँछन् ।

मदन भण्डारीलाई खुल्ला सभामा तथानाम भन्नेका बारेमा चुँ गर्दैन होइन बरु उल्टो प्रशंसाको पुल हाल्छ तर उक्त अभिव्यक्तिप्रति आलोचनात्मक कुरा गर्नेलाई खेदोपाइलो गर्छ । तर, यो लेखक रोग निको नहुन्जेल दबाइ गरिरहने भएकाले एक्लो भए पनि अघि बढिरहन्छ । बातले रोगको निदान भएन भने थेत्तराको ओखती पनि यस लेखकले जानेको छ ।

बहुआयामिक विषय विधा र क्षेत्रलाई समेटेर आमजनसमक्ष बोल्नै नजान्ने नेता बढी त एमालेमै देख्छु । कम्तीमा राजनीति भनेको भकुन्डो वा बल हो । यसको दोष, कमजोरी हुँदैन । फुटबल खेलाडीले गलत र नियमविपरीत खेल्दा राजनीतिप्रति नकारात्मक भाव फैलिएको हो ।

सापेक्ष र निरपेक्ष, तुलना समानता र वैषम्यका आधारमा कुनै पनि पार्टी नेताको मूल्याङ्कन गर्ने अवधारणा कतिपय नेता नै अनभिज्ञ देखिन्छन् । पार्टी स्कुल छ जबज पढाउँछ र घोकाउँछ तर उसले नै जबजको सार बुझेको छैन । मदन र जबजले स्टालिन र रायमाझी एमाले पार्टी नजन्मियोस् भन्ने दूरदृष्टि राखेको बुझेको छ ? उपर्युक्त खालका नेता पार्टीमा नजन्मिउन् भनेर आलोचना र आत्मालोचना नेताले गर्नुपर्छ भनेको होइन ?

यसरी बारबार नेताले आफैँलाई हेरेर मनन गरेर आफ्ना कमजोरी उपर ध्यान दिन र दिलाउन सकेको भए यस्तो हविगत हुन्थ्यो ? जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गरेको कुरा र यसको मर्म बुझेको भए मेरा सुझावमूलक लेख किन प्रतिबन्धित हुन्थे, यसरी खबरदारी सचेत र सावधानी गर्ने गराउने लेखक कवि र स्रष्टा चरम रूपमा अपमानित हुन्थे ?

नेतामा तीन बाक्सी जमेको मयल हटाउनुपर्छ भन्ने भारी दुष्मन हुने अनि चरम चाकरी गर्ने ढकाल, भट्टराई, थापा, रिमाल, दँगाली पोखरेल, बराल र ज्ञवाली थरी प्रियतम हुने ? पञ्चायतका कट्टर पक्षधरले पञ्चायतकै दाहसंस्कार गरेका होइनन् ? यस्ता कुरा नेका पार्टीमा पनि देखिएकै हो तर नेका पार्टीका नेता र कार्यकर्ताहरू पार्टीका नेताको आलोचना खुल्ला रूपमा गर्न पाउँछन् ।

मनको तीतो पोख्न पाउँछन् । कम्तीमा बोल्न त पाउँछन् । अनि नेता र कार्यकर्ता अडिँदा रहेछन् । एउटा पार्टी र सङ्गठनमा सामान्य अनुशासन त हुनै पर्ने हो । तर एमाले पार्टी आफूलाई नीति प्रधान भन्छ । यसको खुब बखान गरिन्छ तर पार्टी हाल महाराजको विचार, संस्कार र शैलीमा चलेको छ । महाराज झैँ अध्यक्षलाई ठूलो सोफामा विराजमान गराइन्छ ।

अलिकति पनि सर्म छैन । जनवादी केन्द्रीयताका नाममा नोकरसाही लादिन्छ । नेता र कार्यकर्तालाई घँटेसी लाग्ने पगाहाले घाँटीमा कसिन्छ । प्रथम महिला राष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्या भण्डारी उपर हिंसात्मक बोलीवचनको शस्त्रवाण प्रहार गरिन्छ महिलाको अस्मितामाथि बन्चरो प्रहार गर्दा पार्टी केन्द्रीय सदस्य नवीना लामालगायत बोल्छन् तर अरूहरू द्रौपदीको चीरहरण गर्दाझैँ मौन र मूकदर्शक बन्छन् ।

अझ केही त चरम भाटभृत्य झैँ महिला अस्मितामाथि परोक्ष आरोप र आलोचना गर्छन् । एउटा स्वाभिमानी र विवेकी मान्छे हुन नसकेकाहरू एमाले पार्टीका केन्द्रीय सदस्य भएका छन् । अर्कातिर केही स्थायी, पोलिटब्युरो र केन्द्रीय सदस्य जो पुरुष पनि छन् । पौरुषबिनाका पुरुषको के काम छ ।

आफ्नै आँखा सामु रत्यौली खेलको देखेर ती चुपचाप र मौन छन् । सुरुवाल लगाएर माच र पुलिंग भएरमात्र पुरुष भइन्न । अझ कम्युनिष्ट हुनु असल मान्छे हो भन्ने सन्दर्भमा त यी कम्युनिष्ट नामका कलङ्क नै हुन् । एउटा विद्वान्, सज्जन र भद्र मानिस चोर बाटोतिर लागेपछि र तिनको पुच्छर र सँगाती भएपछि भद्र भनिन्न र मानिन्न ।

जबजसम्बन्धी निक्कै सैद्धान्तिक र वैचारिक धुवाँदार व्याख्या गर्नेहरू पनि छन् तर तिनको हालको बेहोरा हेर्दा तिनको चरम अविवेकी बेहोरा देख्दा आफैँलाई भारी सरम लाग्न थालेको छ । नेकाको त विधानमा नै नेता प्रधानता उल्लेख गरिएको छ तसर्थ त्यहाँ नेतालाई अत्यन्त सम्मान पूजा गर्नु ठिकै होला । यस पार्टीले विधानमा यस सवालमा संशोधन गर्नु जरुरी होला तर एमाले अध्यक्ष भने कुरा एउटा काम अर्को गरेर जनसमक्ष तीव्र रूपमा नकारात्मक बन्दै गएको छ । तर पनि एमाले सबै हिसाबले अगाडि नै छ ।

अध्यक्षका पछिल्ला गतिविधिबाट पार्टीप्रति नकारात्मक धारणा व्यापक बनेको छ । तथापि २००६ सालदेखिको पुष्पलाल, तुलसीलाल, मनमोहन, सहाना र मदन भण्डारी जस्ता महान् नेता कुन पार्टीमा छन् । देश र जनताका हितमा नमुना र उदाहरणीय काम गर्ने अरू कुन पार्टी छ । ओलीकै प्रधानमन्त्रीत्वकालका विकास निर्माण राष्ट्र राष्ट्रियताका सवालमा नमुना काम गरेको इतिहासमा दर्ज भएकै छ तर उनमा जुन खालको नमुना अहङ्कार देखिन्छ । त्यसले पार्टी र सरकारमा सहयात्री दल नेकासमेत झस्केको छ ।

अहिले बल्लबल्ल केही विवेकी नेता झैँ पार्टी र अध्यक्षका विकृतिलाई लक्षित गरेर बोले भने पार्टीको व्यापक जनमतमा अरू वृद्धि हुन्छ । नत्र पशुपतिनाथले पनि पार्टीलाई जगाउन र जोगाउन सक्तैन । एमाले पार्टीका केही उपल्ला तहका चरम विसंगत नेतालाई यस लेखकले मलाई त तपाईँहरूसित सँगै हिँड्न पनि लाज लाग्छ भनेको छु ।

२००३ साल हुँदै नेपालको राजनीतिक सामाजिक इतिहासमा नेपाली काँग्रेसको गौरवशाली भूमिका रहेको छ । २००७, २०३६, २०४६, २०६२/०६३ हुँदै अनेक महत्वपूर्ण कालखण्डमा एकल र सहकार्यका साथ यस पार्टीले मूल्यवान् काम गरेको छ । तथापि केही बदनाम नेताका कारण पार्टीमाथि नै जनताले धारे हात लगाएका हुन् तर बीपी, कृष्णप्रसाद भट्टराई, गणेशमान, सुवर्ण शमशेर, महेन्द्रनारायण निधि, परशुराम चौधरी आदि जस्ता एक कालखण्डमा महत्वपूर्ण योगदान दिएका व्यक्तित्व छन् । बिपीले मेलमिलाप नीति लिएर नेपाललाई सिक्किमीकरण हुन नदिएको गौरवशाली इतिहास नेकासित कायम छ ।

एक लाखमा इमानदार हुने मान्छे एक करोडमा बेइमान पनि हुन सक्छन् र हुन्छन् भन्ने सामान्य कुरा नजान्नेहरू एकताका बालेन र रवि लामिछानेका पक्षमा तीन बित्ता उफ्रनेहरू तीन छक्क परेको देखिन्छन् ।

यस्ता-यस्ता गौरवशाली व्यक्तित्व विशेषता र क्षमता भएका पार्टी कति छन् ? कथित युद्धका नाममा जन र धनको अपार क्षति गर्ने र भारतका विरुद्ध केही नै गर्दैनौँ भन्ने पार्टी हुन् र ? नेका र एमाले ? तर पनि यी पार्टीका केही नेता सप्रिन्छन् भन्ने पूरै आशा र भरोसा नगरे हुन्छ ।जिन्दगीभरि चोर्न धुत्न र लुट्न पल्केकाहरू आजको भोलि सप्रिँदैनन्, सपार्नुपर्छ हलो जोत्ने चोर गोरुका मुखमा मोहला लगाए झैँ गरी गोरु चुटाइ चुट्नुपर्छ ।

म चाहिँ एमालेका जुनसुकै तहका नेतालाई जस्तालाई तस्तै गर्न ज्येष्ठ जेन-जी, नेकपा कोशी गठन गरेर आवश्यक पर्‍यो पार्टीभित्रै आक्रामक अभियानको तयारीमा छु । मुखले प्रजातन्त्रवादी भन्ने नेका भन्ने विश्लेषक, विज्ञ, विद्वान् प्राध्यापक युवा अग्रज भन्ने तर त्यसअनुसार पार्टी र नेतालाई सुध्रिन र सुधार्न बाध्य नपार्नेलाई मेरो उग्र विरोध र असहमति छ ।

एक लाखमा इमानदार हुने मान्छे एक करोडमा बेइमान पनि हुन सक्छन् र हुन्छन् भन्ने सामान्य कुरा नजान्नेहरू एकताका बालेन र रवि लामिछानेका पक्षमा तीन बित्ता उफ्रनेहरू तीन छक्क परेको देखिन्छन् । हौसिएको बाली देखेर मक्ख पर्नु हुँदैन । माओवादी, विप्लव, तराई मधेसका पार्टीहरू अब पनि सुध्रिएनन् भने तिनको अस्तित्व धरापमा पर्नेछ । हलक्क हौसिएको बाली एक-एक ससाना हावाका झोक्कामा भुँइमा पसारिन्छ ।

अहिले त देशकै अस्तित्व सङ्कट परेको बेला लोकतान्त्रिक र प्रगतिशील शक्ति एकताबद्ध हुन जरुरी देखिन्छ तर पुराना अनुहारलाई कसैले पत्याउँदैन । नेकाका बारेमा मैले धेरै नबोलूँ तर एमालेमा पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्या भण्डारीको नेतृत्वमा मात्र एमाले जोगिन र जोगाउन र समृद्ध गराउन सकिन्छ ।

वाम तथा लोकतान्त्रिक संयुक्त सहकार्य सम्भव हुन्छ । जबज र मदनको लिगेसीलाई अन्तरात्मादेखि आत्मसात् गर्ने भण्डारीले नै वाम सहकार्य र एकता सम्भव हुनेछ । एमाले र नेकाका बात बहादुरले जतिसुकै थुतुनु बजाए पनि चरोमुसोले पनि पत्याउने छैन । घमण्ड गरेजस्तो होला म र हामीजस्ता सधैँ इमानदार देश र जनताको सेवामा सदा प्रतिबद्धहरूले मात्र चरम निराशाका बिच देशमा आशा र भरोसा जगाउन सक्छन् ।
(इटहरी निवासी लेखक ज्येष्ठ जेन-जी, नेकपा, कोशी प्रदेशका संयोजक हुनुहुन्छ ।)

यो लेख आजको हिमालय टाइम्समा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार