मिसेस स्टेट २०२५: प्रतियोगी र अभिभावकसँग अन्तरक्रिया सम्पन्न

मंगलबार, २३ बैशाख २०८२

धरान : महिला सशक्तिकरणका लागि कार्यरत संस्था वुमन्स वर्थ ग्रुपको आयोजनामा हुन लागेको ‘मिसेस स्टेट २०२५, सिजन थ्री (कोशी प्रदेश)’ प्रतियोगिताको सन्दर्भमा सहभागि प्रतियोगीहरू र उनीहरूको अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा सहभागी तथा उनीहरूका अभिभावकसँग कार्यक्रमबारे जानकारी आदान–प्रदान गर्दै, कार्यक्रमका उद्देश्य तथा प्रशिक्षण प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो।

वुमन्स वर्थ ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठले कार्यक्रममा अभिभावकहरूको जिज्ञासा समाधान गर्नुका साथै प्रतियोगिताका विविध पक्षहरू प्रष्ट पारिएको जानकारी दिइन्। “कहिलेकाहीँ सहभागी र उनीहरूका अभिभावकहरू कार्यक्रमको स्वरूप, उद्देश्य र प्रक्रियाबारे स्पष्ट जानकारी नपाएका हुन सक्छन्, त्यसैले यो मिट आवश्यक थियो,” अध्यक्ष श्रेष्ठले भनिन्।

कार्यक्रमका सचिव ज्योति राईले प्रतियोगितामा सहभागी २४ जना प्रतियोगीका लागि आगामी बुधवारदेखि तीन हप्ते प्रशिक्षण शिविर सुरु हुने जानकारी दिइन्। उक्त प्रशिक्षण धरान–९ स्थित इनलाइट फिटनेस हलमा कोरियोग्राफर डिजे ललित राईको निर्देशनमा सञ्चालन हुनेछ।

प्रतियोगिताको ग्रान्ड फिनाले यहि जेष्ठ १७ गते शनिवार, धरान–१६ स्थित गुरुङ बार्बेक्यु पार्टी प्यालेसमा हुने तय भएको छ।

विजेताले नगद  ५१ हजार, क्राउन, ट्रफी, गिफ्ट ह्याम्पर, एक वर्षको फ्रि क्रन्च फिटनेस कार्ड र लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ। फस्ट रनर अपले २५ हजार र सेकेन्ड रनर अपले १५ हजार सहित अन्य आकर्षक पुरस्कारहरू प्राप्त गर्नेछन्।

त्यस्तै विभिन्न विधागत उपाधि जस्तै मिसेस ट्यालेन्ट, पर्सनालिटी, ब्युटिफुल, फ्रेन्डशिप, बेस्ट वाक, स्माइल, फोटोजेनिक, डिसिप्लिन, बेस्ट ड्रेस, एक्टिभ तथा पिपल्स च्वाइस पुरस्कार प्रदान गरिनेछ। यी उपाधिका विजेताहरूलाई ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार