काठमाडौँ : ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन सोमबारदेखि खुल्ने भएका छन् । बसेको चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको आज बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन सोमबारदेखि नियमित रुपमा सञ्चालन हुने जानकारी दिए ।
अध्यक्ष महर्जनले रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको बताएका छन् ।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले २३ भदौमा सुरु गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते भएको प्रदर्शनमा विराटनगरस्थित क्युएफएक्स, बुटवलस्थित क्युएफएक्स, गोङ्गबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्युएफएक्समा क्षति पुगेको समेत सङ्घले जनाएको छ ।
प्रतिक्रिया