काठमाडौं : हिन्दूहरूको ठूलो पर्व दसैँ घटस्थापनाको दिनदेखि सुरु भइसकेको छ । यो पर्वलाई परिवार, आफन्त र समुदायसँग जोडिने, खुसी साटासाट गर्ने र सांस्कृतिक मूल्यमान्यतालाई जीवन्त राख्ने अवसरका रूपमा मनाउने गरिन्छ ।
पुराना गीत नगुञ्जिएसम्म दसैँ आएजस्तो नलाग्ने सङ्गीतकार एवं गायक अर्जुन पोखरेलले बताए । अधिकांशमा रेडियो नेपालबाट गुञ्जने मालश्री धुन र हरेक बिहान प्रसारण हुने रेडियो नाटकले दसैँको आभास गराउने गर्दछ ।
“दसैँले सामाजिक एकता, प्रेम र समृद्धिको सन्देश बोकेर आउँछ, जसले नेपाली मनमा विशेष उत्साह र उमङ्ग थप्छ । दसैँलाई लक्षित गर्दै हरेक वर्ष नयाँ गीत सार्वजनिक हुने गर्छन्, तर केही ‘सदाबहार’ गीतले वर्षाँैंदेखि दसैँको रौनकलाई जीवन्त बनाइरहेका छन्”, पोखरेलले भने । मालश्री धुनले दसैँको आगमनको सङ्केत गर्छ भने परदेशमा रहेका नेपालीको भावना र गाउँघरको सम्झनालाई समेट्ने गीतहरूले चाडको महत्त्वलाई अझ गहिरो बनाउने उनको भनाइ छ ।
नेपाली चलचित्र ‘मुग्लान’मा समावेश ‘दसैँ आयो’ पछिल्लो पुस्तामा पनि रुचाइएको गीत हो । यसले दसैँको उत्साहलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ । लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको सङ्गीत र उदितनारायण झा तथा दीपा झाले स्वर दिएको उक्त गीतमा रातो टीका, जमरा र पिङ खेल्दाको रमाइलो अनुभूतिलाई समेटिएको छ । गीतका शब्द झैँ दृश्यले पनि दर्शकमा गहिरो छाप छाडेको छ ।
स्वरसम्राट नारायणगोपाल र दिलमाया खातीले स्वरमा दिनुभएको गीत ‘विछोडको पीडा’ बोलको गीतमा दसैँमा गाउँ फर्कने युवाको भावनालाई प्रतिबिम्बित गरिएको छ । रत्नशमशेर थापाले लेख्नुभएको यो गीतको बोल ‘विछोडको पीडा नसकी खप्न दसैँका बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा’ ले परदेशमा रहँदाको पीडा र घर फर्कने चाहनालाई मार्मिक रूपमा प्रस्तुत गर्छ । यो गीत दसैँको भावनात्मक पक्षलाई उजागर गर्ने कालजयी रचना हो ।
सुगम पोखरेलले तयार गरेको ‘दसैँ तिहार’ गीतले दसैँ र तिहारको उमङ्गसँगै परदेशीको बेदनालाई समेटेको छ । गायक पोखरेलले स्वर भर्नुका साथै सङ्गीत सिर्जना गर्नुभएको उक्त गीतको शब्द रवि श्रेष्ठको हो । यो गीतले छोराको बाटो कुरिरहेका आमाबाबु र तिहारमा माइतीको पर्खाइमा रहेकी चेलीको भावनालाई समेटेको छ । यो गीतले चाडपर्वको सामाजिक र भावनात्मक पक्षलाई उजागर गर्छ ।
योगेश्वर अमात्यले स्वर दिएको ‘दसैँ नै हो कि’ बोलको गीतले दसैँको उत्साहसँगै आर्थिक व्ययभारको यथार्थलाई हास्य शैलीमा प्रस्तुत गर्छ । यो गीतले चाडपर्वको रमाइलोसँगै आर्थिक चुनौतीको पक्षलाई पनि हल्का चित्रण गर्छ । सहदेव ढुङ्गानाको शब्द रचना, शम्भूजित बाँस्कोटाको सङ्गीत सिर्जना र उमेश पाण्डे तथा रमना श्रेष्ठको स्वरमा रहेको ‘रातो टीका निधारमा’ बोलको गीतले दसैँको उत्साहलाई जीवन्त बनाउने गरेको छ ।
पहिला चलचित्रमा चाडपर्वको सन्दर्भ आउने गरेकाले गीतसङ्गीत पनि त्यही अनुरूप तयार हुनेगर्थे । गीतसङ्गीतलाई दृश्यले झनै सशक्त बनाउने भएकाले ती गीतसङ्गीत अहिलेका पुस्तासम्म पनि लोकप्रिय रहेको सङ्गीतकार पोखरेलले बताए ।
“पहिले दसैँ, तिहार, होलीजस्ता पर्वलाई लक्षित गरेर गीत बन्ने गर्थे । ती गीतले चाडपर्वको महत्वलाई दर्साउनुका साथै तत्कालीन समयमा राम्रो प्रभाव छाड्थे । अहिले चलचित्रमा चाडपर्वलाई लक्षित गर्दै गीत बनाउने क्रम न्यून छ, त्यसैले नयाँ गीत भन्दा पुरानैको लोकप्रियता अहिले पनि छ”, उनले भने ।
गायक कर्णराज गिरीले मेला महोत्सवका क्रममा पुरानै गीतको माग हुने गरेको बताए । चाडपर्वका नजिकमा हुने साङ्गीतिक कार्यक्रममा दर्शक तथा स्रोताले पुराना गीत गाउन आग्रह गर्ने उनको अनुभव छ ।
“दसैँ–तिहार भनौँ वा चाडपर्व लक्षित गीत निर्माणमा कमी आएको छ । यस्ता गीत मौसमी रूपमा मात्र बज्ने सोचले नयाँ सिर्जना कम भएका हुनसक्छन् । चलचित्र वा एकल गीतसङ्ग्रहमा पनि पछिल्लो समय कुनै चाडपर्व लक्षित गीत कम आउने गर्दछन्”, गायक गिरीले भने ।
दसैँको सांस्कृतिक र भावनात्मक महत्त्वलाई गीतसङ्गीतले थप जीवन्त बनाउँछ । यी गीतहरूले नेपाली समाजको विविध पक्षलाई समेट्दै चाडपर्वको रौनकलाई पुस्तान्तरण गरिरहेका हुन्छन् ।
प्रतिक्रिया