काठमाडौँ : जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि नेपाली काङ्ग्रेसप्रति आस्था राख्ने युवाहरूले श्रमदान र आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत शङ्करदेव क्याम्पस स्ववियू सचिव तथा कांग्रेस महाधिवेशन प्रतिनिधि मदन उपाध्यायले सरकारलाई पुनर्निर्माण कोष खोल्न आग्रह गरे।
उनले भने, “सरकारले कोष खोलेको खण्डमा हामी युवाहरूले आफैँले सकेको आर्थिक सहयोग सोही कोषमा जम्मा गर्नेछौँ।”
‘यो दसैँ आफ्ना लागि मात्र होइन, देशकै लागि पनि’ भन्ने नारा दिँदै युवाहरूले ३० दिने श्रमदान अभियान समेत सुरु गर्ने घोषणा गरेका छन्। उपाध्यायका अनुसार, जो जहाँ छन् त्यहीँबाट श्रमदानमा सहभागी हुनेछन्।
युवाहरूको ठहर अनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भकै कारण देशमा वर्तमान अवस्था सिर्जना भएको हो। तर, राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझपूर्ण निर्णय र नेपाली सेनाको सक्रिय भूमिकाले मुलुक पुनः शान्तिपथमा फर्किएको उनीहरूको निष्कर्ष छ।
साथै, उनीहरूले अन्तरिम सरकारलाई आफ्नो म्यान्डेटअनुसार ६ महिनाभित्रै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, “देश पहिचान गराउने संरचना ध्वस्त भएका छन्। यसले हामीलाई भावविह्वल बनाएको छ। यस्तो परिस्थितिमा प्रजातान्त्रिक युवाहरूले साझा अभियानमार्फत नेपाल पुनर्निर्माणको सङ्कल्प गरेका छन्।”
पत्रकार सम्मेलनमा नेविसंघ केन्द्रीय सदस्य धर्म खनाल, शिक्षाविद् किरण भट्ट, केदार नाथ पाठक, ल क्याम्पस स्ववियू सचिव मनमोहन भट्टलगायतको सहभागिता थियो।
प्रतिक्रिया