विराटनगरमा ‘एक चिहान’ : किताबको अक्षर रंगमञ्चमा

शनिबार, २१ भदौ २०८२

विराटनगर : विराटनगरको सुशीला कोइराला नाटकघरमा पछिल्ला दिनमा हल्लाखल्ला छैन । तर, भिड छ। भिड किनभने यहाँ विद्यार्थीहरू किताबमा पढेको पात्रसँग प्रत्यक्ष भेट्न पुगेका हुन्छ्न । 

आरोहण गुरुकुलमा मञ्चन भइरहेको ‘एक चिहान’ नाटकले उनीहरूलाई अक्षर मात्र नभएर यथार्थको भुमरीमा उभ्याइदिएको छ । कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममा परेपछि  ‘एक चिहान’ विद्यार्थीका लागि जाँचको सामग्री मात्रै थियो । तर, अहिले यो नाटक मञ्चन हुँदै गर्दा परीक्षा तयारी भन्दा धेरै ठूलो कुरामा बदलिएको छ, पात्रसँगको सामीप्य, घटनासँगको भावनात्मक बन्धन, अनि जीवनका कठोर सत्यसँग सिधा मुठभेड ।

थिएटरमा आउने अधिकांश विद्यार्थीले पहिलोपटक  ‘पाठ्यपुस्तक’ रंगमञ्चमा देखेका हुन् । शिक्षकले कक्षामा पढाउँदा भावुक अष्टनारान केवल कल्पनामा मात्र बस्थे । तर, त्यहाँ उनी खेतमै पसिना बगाउँदै मृत्युशय्यामा परिवारसँग कुरा गर्दै र अन्ततः चिहानमा ढल्दै आफ्नै आँखामुनि देखा पर्छन् ।

यसरी जब कथा अभिनयमा परिणत हुन्छ अक्षरहरूले नीरस परम्परा नभएर चर्को यथार्थको झट्का दिन्छन् । थिएटरको हलमा विद्यार्थीको प्रतिक्रिया आफैंमा एउटा अध्ययन हो । कसैले हाँसो थाम्न सक्दैनन्, कसैले आँसु पुछ्छन् । 

कतिपय विद्यार्थीले भने नाटक हेरेपछि किताबको अध्याय फेरि पढ्न मन लागेको बताएका छन् । यसको अर्थ, साहित्य अब उनीहरूका लागि दुरदराजको विषय नभएर जीवनसँग जोडिएको स्पन्दन भएको अनुभव हो ।

‘एक चिहान’को मञ्चन विद्यार्थीका लागि मात्रै हैन । विराटनगरको सांस्कृतिक जीवनका लागि पनि अवसरका रूपमा हेरिएको छ । लामो समयदेखि यहाँ नाटक हेर्ने बानी विराटनगरवासीमा कमजोर रहेको गुनासो सुनिँदै आएको छ । तर, यो नाटकले कम्तीमा पनि विद्यालय–कलेजका ढोका खोल्न सफल भएको छ । 

विद्यालय प्रशासनहरूले सामूहिक रूपमा विद्यार्थीलाई थिएटरमा ल्याउनु, शिक्षकहरूलाई समेत सहभागितामा जोड्नु र विद्यार्थीले त्यसलाई शैक्षिक अनुभवका रूपमा लिनुले नाटकलाई नयाँ सन्दर्भ दिएको छ । नाटकका संयोजक देवेन्द्र यादव भन्छन्, ‘नाटक कला नभएर शिक्षणको अर्को विधा हो । विद्यार्थीले किताबमै सीमित भएर  ‘एक चिहान’ बुझ्न सक्दैनन् । जब उनीहरूले आँखा अगाडि पात्रलाई देख्छन्, आवाज सुन्छन्, पीडा महसुस गर्छन्, त्यसबेला मात्रै पाठ्यपुस्तक जीवन्त हुन्छ ।’

gurukul2

यसरी हेर्दा, ‘एक चिहान’लाई विराटनगरमा देखिएको चहलपहल मनोरञ्जन होइन । रंगमञ्च कक्षाकोठाभन्दा प्रभावकारी बन्न सक्छ भन्ने देखाइएको शैक्षिक प्रयोग हो । 

नाटकले विद्यार्थी पुस्तासँगै सहरकै सांस्कृतिक मानसिकता पनि परिमार्जन गर्ने संकेत दिएको छ । पठनसंस्कृतिमा कमजोर मानिने पुस्ताले जब रंगमञ्चलाई अध्ययनको सहयात्रीका रूपमा पायो, तब उनीहरूको सहभागिता बढेको छ । यही प्रवृत्तिले भविष्यमा विराटनगरमा रंगमञ्चलाई नियमित सांस्कृतिक अभ्यासका रूपमा विस्तार गर्ने सम्भावना बढाएको यादवको भनाइ छ । 

कलाकार उद्धव सापकोटाका अनुसार ‘एक चिहान’ अहिले एउटा पुस्तकको पानाभित्र सीमित छैन । ‘यो विराटनगरका सयौँ विद्यार्थीको आँखामा, आवाजमा र अनुभवमा फैलिएको छ । सहरको रंगमञ्चीय जीवनले यतिबेला एकैचोटि शिक्षा र संस्कृतिलाई जोड्ने दुर्लभ अवसर पाएको छ,’ सापकोटाले भने ।  ‘एक चिहान’लाई विराटनगरमा मञ्चन गरिएको नाटक मात्र नभएर एउटा शैक्षिक प्रयोगशाला भनेर बुझ्न आवश्यक रहेको उनले बताए । 

आरोहण गुरुकुलमा मञ्चन भइरहेको ‘एक चिहान’ नाटकले विद्यार्थी र शिक्षकलाई मात्रै नभएर सर्वसाधारण दर्शकलाई समेत भावुक बनाइरहेको छ । हृदयचन्द्र सिंह प्रधानले २०१७ सालमा लेखेको यस उपन्यासलाई नाट्य रुपान्तरण गर्दै प्रस्तुत गरिएको हो । कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममै समावेश भएकाले पनि यो नाटकलाई शैक्षिक दृष्टिले निकै महत्वपूर्ण मानिएको छ । 

कथाको केन्द्रमा ज्यापू समुदायका साधारण कृषक अष्टनारान छन् । खेतमा पसिना बगाउने, आधा पेट खाएर अरुलाई भरपेट खुवाउने मेहनती किसान भए पनि उनी गरिबीको घेराबाट कहिल्यै मुक्त हुन सक्दैनन् । रोगले थला पार्दा श्रीमती लतमाया, तीन छोरा, छोरी र बुहारीले घरको दलानमा बसेर चिन्ता र आश्वासन व्यक्त गर्ने दृश्यबाट नाटक सुरु हुन्छ । तर, अष्टनारानको मृत्युपछि परिवारले व्यहोर्नुपर्ने असुरक्षा, आर्थिक संकट र सामाजिक विकृतिहरूले कथा क्रमशः शोकान्त मोडतर्फ पुग्छ ।

अष्टनारानकी छोरी नानीथंकुमाथि पाको उमेरका सूरमान सुब्बाको लोभी नजर, नानीथंकु र डा। गोदत्तप्रसादबीचको असफल प्रेम, डाक्टरकी पत्नी रञ्जना देवीसँगको भावनात्मक संवाद जस्ता प्रसंगहरुले कथालाई थप गहिराइमा पुर्याएको छ । अन्ततः काम गरिरहेका बेला खेतमै परिवारका सबै सदस्यको एकैपटक मृत्यु हुनुले शीर्षक ‘एक चिहान’को अर्थलाई स्पष्ट बनाउँछ ।  

१ घण्टा ४५ मिनेट लामो यो नाटक १३ जना कलाकारले प्रस्तुत गरेका छन् । महेश पासवानले अष्टनारान, संगीता यादवले लतमाया, उद्धव सापकोटाले जेठो छोरा शिवनारान, गौरव खतिवडाले पुननारान, शिवराज भुजेलले हर्षनारान, दीक्षा चौधरीले हाकुमाया, उपासना राईले सिन्तली, भरत कार्कीले रामबहादुर, प्रदीप दाहालले डा। गोदत्तप्रसाद, अमिशा वाग्लेले रञ्जना देवी, दिव्यांका खड्काले नानीथंकु, सागर घिमिरेले रत्नमान र निशान चौहान राईले सूरमान सुब्बाको भूमिका निर्वाह गरेका छन् । विशेषगरी दिव्यांका खड्का र उपसना राईको पहिलो रंगमञ्चीय डेब्यू हो । उनीहरुसहित सबै कलाकारको प्रदर्शन उत्कृष्ट छ । 

gurukul1

दर्शकदीर्घामा विद्यार्थीदेखि शिक्षकसम्म भावुक बनेका दृश्यहरू बारम्बार देखिएका छन् । अष्टनारायणको मृत्युपछि परिवार शोकमा डुबेको प्रसंगले कतिपय विद्यार्थीलाई डाँको छाडेर रुन बाध्य बनाएको थियो भने कतिपय संवादले हलमै हाँसोको छाल ल्याएको थियो । नाटकले जीवनका दुःख र हास्य दुवै पक्षलाई एकसाथ अनुभूत गराउँछ ।

नाटकलाई विराटनगरमा जीवित बनाउन संयोजकको भूमिका निभाएका देवेन्द्र यादव सास्थम कलेजमा हस्पिटालिटी विषयका विद्यार्थी हुन् । २०७४ सालमा यसै नाटकमा अभिनय गरेका यादव अहिले संयोजनमा सक्रिय छन् । 

आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीका अनुसार सुरुवाती योजना दैनिक दुई शोको भए पनि विद्यालयको मागका कारण अहिले दैनिक तीन शोसम्म बढाइएको छ । उनले पहिलो शोमै विद्यालयका शिक्षक–प्रधानाध्यापकलाई आमन्त्रण गरिएको र उनीहरूको सकारात्मक प्रतिक्रियाले थप शो गर्न हौस्याएको बताए ।

विद्यार्थीहरूको सक्रियता र विद्यालयहरूको सहभागिताले ‘एक चिहान’लाई सफल बनाउन ठूलो योगदान दिएको छ । भदौ ११ गतेदेखि सुरु भएको नाटक भदौ २७ गतेसम्म निरन्तर मञ्चन हुनेछ । नेपाली साहित्यको ऐतिहासिक कृति ‘एक चिहान’ले गरिबी, अन्याय, अन्धविश्वास र परम्परागत संस्कारमाथि प्रश्न उठाएको छ । पाठ्यक्रममा समावेश यस उपन्यासलाई रंगमञ्चमार्फत देख्दा विद्यार्थीले अध्ययन र अनुभवलाई एकसाथ जोड्ने अवसर पाएको कलाकार उद्धव सापकोटाको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार