मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला : बलात्कारपछि हत्या गरिएको आशङ्का

शुक्रबार, ०७ कार्तिक २०८२

विराटनगर : मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतम शुक्रवार जङ्गलभित्र मृत भेटिएकी हुन् । 

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको हो ।

उक्त वन क्षेत्र लेटाङ र बेलबारीको सिमानामा पर्छ । बीभत्स अवस्थामा शव भेटिएको दृश्य अत्यन्तै भयावह रहेको स्थानीय बताउँछन् । घटनापछि स्थानीय त्रसित एवं स्तब्ध बनेका छन् । 

एसपी कटवालले अंशुको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको जानकारी दिए ।

कुहिएको शवका कारण वरपर दुर्गन्ध फैलिएको उनले बताए । घाँस काट्न गएका स्थानीयले शव देखेपछि दिउँसो करिब १ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थल पुगेको थियो । 

घटनाको अनुसन्धानका लागि एसपी कटवाल आफैँ घटनास्थल पुगेका छन् । अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् । अभिभावक कसैलाई पनि केही नभनीकन बेपत्ता भएकीको उनको शव १८ दिनपछि जङ्गलमा बीभत्स अवस्थामा भेटिएको हो । 

अंशु बेपत्ता भएपछि अभिभावकले खोजीमा सहयोग गरिदिन प्रहरीलगायतका सरोकारवालालाई आग्रह गरेका थिए । लामो समयदेखि खोजी जारी राखिएको भए पनि केही पत्ता लागेको थिए । अन्ततः सडेर दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएकाहरूले बीभत्स शव फेला पारेका हुन् । 

pradeskhabar.com - 2025-10-24T180948.699

घटनास्थल वरिपरि अंशुले लगाएको ट्राउजर र हाफ पाइन्ट फुकालिएको अवस्थामा भेटिएको एसपी कटवालले बताए । कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि उनको हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । 

‘शव बीभत्स र टाउको एवं शरीर अलग गराएको अवस्थामा छ । घटना शङ्कास्पद देखिन्छ । कुनै धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने आशङ्का छ ।

जङ्गली जनावरले आक्रमण गर्दा ज्यान गएको पनि हुन सक्छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । चाँडै वास्तविकता पत्ता लाग्ने अपेक्षा छ,’ एसपी कटवालले भने । उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट यौनजन्य अपराध हो कि जङ्गली जनावरले आक्रमण गरेको हो भनेर यकिन हुन सकेन ।  

लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत थिइन् ।

उनका अभिभावक अत्यन्तै सामान्य आर्थिक अवस्थाका छन् । वडाध्यक्ष तिम्सिनाले भने, ‘बालिकाको मृत्युले सिङ्गो गाउँ स्तब्ध एवं त्रसित बनेको छ। यस्तो निर्दयी घटना हामीले सोच्न पनि सक्दैनौँ । दोषी जोसुकै होस्, कानुनको कठघरामा उभ्याउनुपर्छ ।’

घटनापछि परिवार, आफन्त एवं गाउँमा शोक र आक्रोश फैलिएको छ । बीभत्स अवस्थामा शव फेला परेकाले बालिकाको हत्या नै भएको बताउँदै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

वडाध्यक्ष तिम्सिना पनि घटनाको प्रकृति हेर्दा बालिकाको हत्या नै भएको हुनसक्ने अनुमान गर्छन् । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बालिकाको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । 

पोस्टमार्टम रिपोर्ट आएपछि र थप अनुसन्धान अघि बढाएपछि मृत्युको कारण स्पष्ट हुने एसपी कटवालको भनाइ छ । ‘कसैले धारिलो हतियार प्रहार गरेर हत्या गरेको हो वा जङ्गली जनावरको आक्रमणबाट घटना भयो भनेर यकिन छैन । विस्तृत अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान सकिएपछि सबै कुरा स्पष्ट हुन्छ,’ उनले भने । 

घटनास्थल र घटनाको प्रकृति हेर्दा बलात्कारपछि धारिलो हतियार प्रहार गरेर बालिकाको हत्या गरेजस्तो देखिने प्रहरी स्रोतको भनाइ छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर घटनासँग सम्बन्धित प्रमाण सङ्कलन गरेको छ । 

प्रहरीले वरपर बस्तीका केही व्यक्तिहरूमाथि सोधपुछ पनि गरिरहेको छ । घटनाले मानवतामाथि गम्भीर प्रश्न उठाएको वडाध्यक्ष तिम्सिना बताउँछन् ‘बालिका हराएको दिनदेखि नै सबै मिलेर खोजी तीव्र पारिएको थियो । बेपत्ता भएको जानकारी प्रहरीलाई पनि थियो । अहिले आएर अत्यन्तै बीभत्स अवस्थामा शव भेटियो,’ उनले भने । 

एसपी कटवालले घटनाको अनुसन्धानलाई तीव्र बनाइएको बताए । पोस्टमार्टम रिपोर्ट र फरेन्सिक अध्ययनपछि घटनाको थप निष्कर्षमा पुगिने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार