इटहरी : पूर्वेली लोकगायिका अञ्जु गौतमले म्युजिक नेपालले आफ्ना मौलिक रचनामा अनावश्यक 'कपिराइट' विवाद खडा गरी युट्युबबाट गीतहरू ब्लक गरेको भन्दै सार्वजनिक रूपमा कडा आपत्ति जनाएकी छिन्।
बुधवार इटहरीमा पत्रकार सम्मेलन गर्दै उनले आफ्ना तीन चर्चित गीत– लैबरी माया, पानी पर्यो झमझम र माला लाउनु फुलैको गाँसेर बोलको गितलाई म्युजिक नेपालका प्रमुख सन्तोष शर्माको पहलमा अनुचित रूपमा ब्लक गरिएको दाबी गरिन्।
गौतमका अनुसार अरुण उपत्यकाका गीतसँग आफ्नो गीतको धुन वा भाका कुनै मेल नखाने प्रमाणसहित देखाउन सक्ने भए पनि 'कपिराइट'को नाममा गीत ब्लक गर्नु कलाकारलाई मानसिक यातना दिनेबाहेक अरू उद्देश्य नभएको उनको आरोप छ।
प्रमाणसहित ब्लक हटाउन आग्रह गर्दा समेत आफू धम्की र दबाबको शिकार भएको उनले बताइन्।
प्रतिलिपि अधिकार ऐन, २०५९ ले मौलिक सिर्जनात्मक कृतिलाई 'कपिराइट' सुरक्षा दिने भए पनि लोक भाका र परम्परा आत्मसात् गरेर सिर्जना गर्ने अधिकार कलाकारलाई खुला गरेको प्रस्ट पार्दै गौतमले आफ्ना गीत मौलिक परम्परामा आधारित भएको दाबी गरिन्।
दुई दशकदेखि कोशी प्रदेशलाई आधार मानी गायनमा सक्रिय रहिएकी गौतमले तीन सयभन्दा बढी लोकगीत गाइसकेकी छिन्। तर, लोकप्रिय गीत ब्लक भएपछि आर्थिक तथा मानसिक दुवै असर परेको गुनासो गर्दै उनले अब कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन्।
हालका वर्षहरूमा युट्युबजस्ता डिजिटल प्लेटफर्ममा कपिराइट विवाद बढ्दै गएको छ। विशेषगरी लोकगीतमा भाका समानता हुने भएकाले विवाद झन् चर्किने गरेको कलाकारहरूको अनुभव छ।
अन्तर्राष्ट्रिय अभ्यासअनुसार, लोक भाका प्रायः सार्वजनिक सम्पत्तिमा पर्ने भए पनि नेपालमा अझै स्पष्ट नीति र अभ्यास नहुँदा समस्या दोहोरिइरहेको छ।
प्रतिक्रिया