‘भातै मिठो मार्सी चामल’ गीतका गायक दुर्गा पराजुली : “मौलिक भाकामै भविष्य छ”

बुधबार, ०४ भदौ २०८२

इटहरी : धनकुटाको साबिक डाँडाबजारमा २०३६ साल वैशाख ११ गते जन्मिएका गायक दुर्गा पराजुली पूर्वेली लोक भाका र आधुनिक गीतका लागि चर्चित नाम हो । गाउँघरमा देउसी–भैलो खेल्दा खेल्दै गायन यात्रामा होमिएका पराजुलीले हालसम्म करिब २ सय ५० भन्दा बढी गीतमा आफ्नो आवाज भरेका छन् ।

उनको चर्चित गीत ‘भातै मिठो मार्सी चामल’ ले उनलाई नेपाली सङ्गीत क्षेत्रमै फरक परिचय दिलाएको छ । कोशी प्रदेशको सुन्दर नगरी इटहरीलाई आधार बनाएर सङ्गीतलाई निरन्तरता दिइरहेका पराजुलीले नयाँ पुस्तालाई सङ्गीत सिकाउनका लागि सङ्गीत प्रतिष्ठान समेत स्थापना गरेका छन् ।

तर, पछिल्लो पुस्ताले मौलिकता र संस्कृतिको आत्मा बोकेका गीतभन्दा छाडा र विकृत सोच भएका गीतलाई प्राथमिकता दिन थालेकोमा उनी चिन्तित देखिन्छन् । उनका अनुसार, अहिले बजारमा छ्यापछ्याप्ती आएका ‘तात्कालिक चर्चाका लागि मात्र बनाइएका गीतले’ नेपाली सङ्गीतको वास्तविक धरोहरलाई ओझेलमा पारेको छ ।

पराजुली भन्छन्,“स्वरसम्राट स्व.नारायण गोपाललाई समेत बिर्साउने गरी अहिलेका गीतमा मौलिकता हराउँदै गएको छ । मेला महोत्सव र अश्लीलताले समाजमा विकृति थपिरहेका छन् । यसलाई रोक्न राज्यको नियमन अपरिहार्य छ ।”

सङ्गीतलाई साधन र समाजलाई सन्देश दिने माध्यम मान्ने पराजुली अझै पनि सृजनशील यात्रामा निरन्तर छन् । उनको भनाइमा, मौलिक भाकामा भविष्य छ, त्यसैले नयाँ पुस्ताले जरा नबिर्सेर मौलिकतालाई आत्मसात् गर्न जरुरी छ । यिनै विषयलाई जोडेर प्रदेश खबरले गायक पराजुलीसँग कुराकानी गरेको छ ।

उनीसँग गरिएको कुराकानीको संक्षेप : 

तपाईँको साङ्गीतिक यात्रा कसरी सुरु भयो ?
गाउँघरको साङ्गीतिक माहौल, देउसिभैली, अग्रजहरूका गीत नै मेरो सुरुवात हो ।

यो क्षेत्रमा तपाईँलाई कति समय भइसकेको छ ?
स्वाभाविक रूपमा यो क्षेत्रमा लागेको दुई दशकभन्दा लामो समय भयो । यस क्रममा अनगिन्ती सङ्घर्ष र केही अनुभव पनि सङाल्ने अवसर पाएँ ।

परिवारको साथ सहयोग कस्तो रह्यो ?
सुरुका दिनमा बुवा–आमाको रुचि अन्य क्षेत्रमा भएकाले खासै समर्थन थिएन । तर आज भने सबैको साथ–समर्थन छ र परिवारमै साङ्गीतिक माहौल बनेको छ ।

तपाईँ कुन खालको सङ्गीततर्फ बढी आकर्षित हुनुहुन्छ ?
आधुनिक गीतसङ्गीतमा पनि रुचि छ र काम गरिरहेको छु । तर, आफ्नोपन बोकेको र माताको सुगन्ध भएको लोक सङ्गीत नै प्रिय लाग्छ ।

नयाँ पुस्ताको धाराबारे तपाईँको दृष्टिकोण के छ ?
आजको पुस्ताले फरक–फरक धार समातेको देख्छु । पुराना अग्रजका मौलिक गीतहरू पनि उनीहरूले फरक शैलीमा गाएका छन् । 

परम्परागत गीत–सङ्गीतको भविष्यबारे तपाईँको धारणा ?
अघिल्लो पुस्ता समाप्त हुने बित्तिकै धेरै परम्परा हराउने खतरा छ । निकायहरूले चासो नदिँदा लोकगीत, भाका, भाषा, चलन हराउँदै छन् । त्यसैले नयाँ पुस्ताका कलाकारले यिनलाई संरक्षण गरेर प्रचलनमा ल्याउनुपर्छ भन्ने लाग्छ ।

तपाईँ आफैलाई कसरी हेर्नुहुन्छ ?
म आफैलाई ठूलो र प्रख्यात गायक ठान्दिन। तर निरन्तर लागिरहेकाले स्थापित कलाकार–सर्जकले मेरो क्षमतालाई राम्रै स्थान दिएका छन् ।

तपाईँका गीतहरूको स्तरबारे के भन्नुहुन्छ ?
म प्रख्यात गायक नभए पनि मैले रेकर्ड गरेका गीतहरू स्तरीय नै छन् भन्ने लाग्छ । केही गीतहरू श्रोता–दर्शकले मन पराइदिनुभएको छ ।

नेपाली सङ्गीत बजारको अवस्थाबारे तपाईँको मूल्याङ्कन के छ ?
केही गायक–गायिकाको भिड भए पनि समग्र सङ्गीत बजार व्यावसायिक रूपमा कमजोर छ । डिजिटल बजार व्यवस्थित नहुँदा लगानी र त्यसको प्रतिफल(रिटर्न) न्यून छ ।

बजारमा लोकप्रिय गीतको गुणस्तरबारे तपाईँको धारणा ?
डिजिटल बजार व्यवस्थापन नहुँदा राम्रा गीतभन्दा सस्तो लोकप्रियताका गीत चलेका छन् । वास्तवमा गहिरो अर्थ बोकेका गीत–सर्जकहरू मारमा छन् ।

नयाँ पुस्ता र पुराना कलाकारबिच कस्तो अन्तर देख्नुहुन्छ ?
म खासै पुरानो होइन तर देख्छु – कतिले राम्रो साधना गरेर आएका छन् भने कतिले रहरमै हिट हुने दौडमा दौडेका छन् । सबैले मिलेर काम गर्न आवश्यक छ ।

तपाईँको व्यावसायिक पक्ष कस्तो छ ?
म व्यवसायी पनि हुँ । तर अहिलेको अर्थतन्त्रले व्यवसाय डामाडोल अवस्थामा छ । त्यसैले अहिले सङ्गीतमै रमाइरहेको छु ।

सङ्गीत बाहेक तपाईँलाई के–केमा रुचि छ ?
मलाई पुस्तक पढ्न मन पर्छ । फुर्सदमा साहित्य, इतिहास र भूगोलका पुस्तक पढ्छु ।

नयाँ पुस्ताका कलाकारलाई के सन्देश दिन चाहनुहुन्छ ?
विषयवस्तुको राम्रो अध्ययन गरेर आउनुपर्छ। हाम्रो पहिचान हाम्रो मौलिक सङ्गीतमा छ । त्यसैले मौलिकपनलाई पहिलो प्राथमिकता दिनुपर्छ। तर सबै किसिमका सङ्गीत बुझ्ने र सिक्ने पनि आवश्यक छ ।

तपाईँको अधूरो सपना के हो ?
मेरा सबै सपना अधूरै छन् । आफ्नोपन बोकेका स्तरीय गीत सिर्जना गर्नु नै मेरो ठूलो सपना हो । त्यसकै लागि सङ्गीतको साधनामा लागिरहेको छु ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार