इटहरी : नेपाली बजारमा रमपम, टुपिएम, प्रीति लगायत लोकप्रिय ब्रान्डका चाउचाउ उत्पादन गर्ने एसियन थाई फुड्स प्रा.लि.ले आफ्नो दोस्रो उत्पादन इकाई कपिलवस्तुको तौलिहवामा सञ्चालनमा ल्याएको छ। गोबरी, कपिलवस्तु नगरपालिका ६ मा स्थापना गरिएको उक्त युनिटले बुधबारदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ।
कम्पनीका निर्देशक महेश जाजूका अनुसार, नयाँ युनिटले प्रारम्भिक चरणमा चाउचाउ उत्पादन गर्नेछ भने दोस्रो चरणमा स्न्याक्स उत्पादन सुरु गरिने योजना छ। उनले उद्योगले हाल दैनिक २० टन चाउचाउ उत्पादन गरिरहेको जानकारी दिए।
जाजूले भने, “अब पश्चिमका ग्राहकलाई कपिलवस्तुस्थित उद्योगबाटै आपूर्ति गरिनेछ, जसले लागत घटाउनेछ।” उनका अनुसार, भारतको उत्तर प्रदेश र उत्तराखण्डमा पनि यही युनिटबाट चाउचाउ निर्यात गरिनेछ, किनकि यहाँबाट ढुवानी खर्च कम पर्छ।
गोबरीस्थित पूर्व क्यापिटल फुड्स प्रालिको बन्द उद्योगलाई एसियन थाई फुड्सले १० महिनाअघि एभरेस्ट बैंकमार्फत लिलामी प्रक्रियाबाट खरिद गरेको हो। करिब २ बिघा ८ कट्ठा जमिनमा फैलिएको उक्त उद्योग २२ करोड रुपैयाँमा खरिद गरिएको थियो। यसमा उद्योगको घर, मेसिनरी र सम्पूर्ण संरचना समावेश छन्।
एसियन थाई फुड्सले अहिले आफ्ना उत्पादनहरू नेपालसँगै भारत, यूएई, ओमन, कतार, साउदी अरब, मलेसिया, अमेरिका, अस्ट्रेलिया, इटली लगायतका देशहरूमा निर्यात गरिरहेको छ। नयाँ युनिट सञ्चालनसँगै कम्पनीको उत्पादन क्षमता र निर्यात सञ्जाल अझ विस्तार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया