काठमाडौँ : भ्रष्टाचार र दुरुपयोगको गम्भीर आरोप लागेपछि सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा अख्तियारमा तानिएका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडाविरुद्ध आएका गम्भीर आरोपहरूको छानबिन गर्न सङ्घीय प्रहरी इकाई जनकपुरमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
खतिवडाले सेवा लिनेको नाममा लाखौँ रुपैयाँ असुलेको, सर्वसाधारणलाई अनावश्यक दुःख दिँदै आर्थिक लाभ लिएको र त्यस कार्यमा आफ्ना मातहत प्रहरी नायब निरीक्षक (सई) विश्वनाथ त्रिपाठीलाई प्रयोग गरेको आशङ्का छ। यी आरोपहरू एक युट्युब च्यानलमार्फत सार्वजनिक भएपछि उनीमाथि छानबिन थालिएको हो।
उक्त युट्युब भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ। भिडिओमा व्यक्त आरोपअनुसार एसपी खतिवडाले प्रहरीको पद र अधिकारको दुरुपयोग गर्दै ट्राफिक, मुद्दा मिलापत्र र अनुसन्धानका नाममा अवैध रकम असुली गरेका छन्।
मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी प्रमुख नै लेनदेन प्रकरणमा मुछिनु गम्भीर विषय भएकाले छानबिन समितिको नेतृत्व वरिष्ठ अधिकारीलाई दिइएको स्पष्ट पारे।
‘छानबिन समिति गठन गरिएको छ। प्रारम्भिक अध्ययनपछि ठोस निर्णयमा पुगिनेछ,’ मधेस प्रदेश प्रहरी स्रोतले भन्यो। सँगै मुछिएका सई त्रिपाठीलाई तत्काल प्रदेश प्रहरी कार्यालयमा तानेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
प्रतिक्रिया