इटहरीको जनता क्याम्पसमा छात्रावास निर्माणका लागि संघीय सरकारबाट १ करोड ४२ लाख विनियोजन

बुधबार, ११ असार २०८२

इटहरी । सुनसरीको इटहरी–५ मा अवस्थित जनता बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि संघीय सरकारले १ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ।

बजेट आगामी आर्थिक वर्ष २०८२/८३ मा समपूरक तथा विशेष अनुदान कार्यक्रमअन्तर्गत कार्यान्वयनमा ल्याइनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद अशोक कुमार चौधरीले योजना सफल कार्यान्वयनका लागि प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै अघि बढाइने जानकारी दिएका छन्। उनका अनुसार छात्रावास निर्माणको  योजनाले टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीहरूलाई बसोबासका हिसाबले सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

WhatsApp Image 2025-06-25 at 11.09.23 AM

 जनता बहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष विकास केसीले क्याम्पसको विकास र पूर्वाधार विस्तारका लागि आफूले निरन्तर पहल गर्दै आएको बताएका छन्। 

अध्यक्ष केसीका अनुसार क्याम्पसमा छात्रावासको व्यवस्था गर्नु आवश्यक भएको कुरा आफूले विगतदेखि नै उठाउँदै आएका थिए। 

“मैले अध्यक्ष भएपछि क्याम्पसमा छात्रावास बनाउने विषयमा इटहरी उपमहानगरलाई समन्वय गरेर सङ्घीय सरकारसमक्ष योजना पेस गर्न आग्रह गरेको थिएँ,” उनले भने, “यो बहुवर्षीय योजना हो, जसको काम चरणबद्ध रूपमा अघि बढ्छ।”

यस्तै, क्याम्पसको सुरक्षा र संरचना मजबुत बनाउनका लागि आवश्यक घेरा बाराको कामको आफ्नो पहलमा प्रदेश सरकाले बजेट छुट्ट्याएको उनले बताए । “मैले पहल गरेपछि प्रदेश सरकारले घेरा बाराका लागि २५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरिदिएको छ,” अध्यक्ष केसीले प्रदेश खबरसँग भने । 

अध्यक्ष केसीले सङ्घ सरकारले इटहरी उपमहानगरपालिका सँग ५ वटा योजनाको माग गरेको र केसीको आग्रह अनुरूप ५ वटा मध्ये २ नम्बरमा जनता बहुमुखी क्याम्पसको छात्रावासको योजना पठाइएको र योजना आफ्नै पहलमा ल्याइएको बताए । 

उनले आफूले नेतृत्व सम्हालेयता क्याम्पसमा शैक्षिक, भौतिक र प्रशासनिक पक्षमा उल्लेखनीय सुधार भएको जिकिर गर्दै हाल भइरहेको विकासका कामहरूको श्रेय अरूले लिन खोजेको बताए । “पछिल्लो समयमा केही व्यक्ति मैले गरेका कामलाई समेत आफ्नो पहल भएको जस्तो देखाउन खोजिरहेका छन्, तर यी सबै प्रयासहरू मेरो अध्यक्षतामा भएका हुन्,” उनले भने ।

सांसद चौधरीले शिक्षा क्षेत्रको विकासमार्फत सामाजिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गर्दै संघीय स्रोतको न्यायोचित र प्रभावकारी प्रयोगमा आफू सदैव प्रतिबद्ध रहने बताएका छन्।

आफूले शिक्षा क्षेत्रमा धेरै काम गर्ने प्रयास गरेको सांसद चौधरीको उनको दाबी छ ।  इटहरी–५ कै श्री ज्योति माध्यमिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि संघीय शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङमार्फत ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

त्यस्तै, इटहरी–१० मा रहेको श्री मनमोहन आधारभूत विद्यालयको पूर्वाधार निर्माणका लागि समेत सांसद चौधरीकै सक्रियतामा बजेट प्राप्त भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार