कोशी अस्पतालको शौचालयबाट फरार भएका थुनुवा अढाई महिनापछि पक्राउ

शुक्रबार, २६ मंसिर २०८२

विराटनगर : मोरङको विराटनगरस्थित कोशी अस्पतालको शौचालयबाट फरार भएका एक थुनुवालाई प्रहरीले अढाई महिनापछि पक्राउ गरेको छ। मोरङको कटहरी गाउँपालिका–१ घर भएका २० वर्षीय मोहम्मद राजुलाई शुक्रबार बिहानका राति पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख, प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन्।

राजु चोरी मुद्दाका अभियुक्त हुन्। जिल्ला अदालत मोरङले थुनामा राखेर पुर्पक्षका लागि आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो। कारागारमा बन्दी जीवन बिताइरहेका क्रममा अचानक पेट दुख्ने समस्या देखिएपछि उनलाई असोज १२ गते साँझ उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो।

उपचाररत अवस्थामा शौचालय लैजाने क्रममा उनी सुरक्षामा खटिएका प्रहरीलाई छलेर अस्पतालको शौचालयको भेन्टिलेसनबाट हामफालेर सोही दिन राति करिब ८ः२० बजे फरार भएका थिए। घटनापछि उनको खोजीका लागि प्रहरी कार्यालय मोरङले निरन्तर अनुसन्धान अघि बढाएको थियो।

लामो समयदेखि फरार रहेका राजुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी सहायक निरीक्षक सुवास अधिकारी नेतृत्वको टोलीले शुक्रबार बिहानका राति ४ः२५ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका राजुलाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमै राखेको र थप कानुनी प्रक्रिया अघि बढाइने डीएसपी चुँडालले बताइन्।

त्यस्तै, विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहबाट भागेकामध्ये १ जना बाल बिज्याइँकर्ता पनि पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–६ का १९ वर्षीय बाल बिज्याइँकर्तालाई प्रहरीले शुक्रबार बिहानका राति पक्राउ गरेको हो । 

कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका ती बाल बिज्याइँकर्ता गत कात्तिक २० गते दिउँसो ४ः२० बजेतिर सुधारगृहबाट फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको हवल्दार दर्शन श्रेष्ठ नेतृत्वको टोलीले उनलाई विराटनगर महानगरपालिका–४ कञ्चनबारी नजिकबाट बिहानका राति १ः१५ बजेतिर पक्राउ गरेको डीएसपी चुँडालले बताइन् ।  

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार