इटहरी : वर्षौँदेखि २४ घण्टा तयारी अवस्थामा रहने इटहरीका पाँचजना दमकल कर्मचारीको तलबमा बृृद्धि गरिएको छ ।
इटहरी उपमहानगरपालिकाको सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले ती कर्मचारीहरूको मासिक तलबमा १० हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।
नगरपालिकाको दमकल विभागमा नगर पञ्चायतकालदेखि कार्यरत भग्लु मल्लिक, झगडु मल्लिक,अशोक मल्लिक,रामचन्द्र मल्लिक र रामबिलास मल्लतकको मासिक तलब २१ हजारबाट बढेर अब ३१ हजार रुपैयाँ पुगेको छ।
नगरप्रमुख हेमकर्ण पौडेलले उक्त निर्णय बैठकमा प्रस्ताव गरेका थिए। प्रस्ताव लगत्तै सम्पूर्ण कार्यपालिका सदस्यहरूले ताली पिट्दै सर्वसम्मत अनुमोदन गरेका थिए।
नगरप्रमुख पौडेलले भने,“वर्षौँदेखि बिना गुनासो निरन्तर सेवा गर्दै आएका यी कर्मचारीहरू हाम्रो गौरव हुन्। जोखिमपूर्ण जिम्मेवारी सम्हाल्दै आएका यस्ता कर्मठ व्यक्तिहरूको योगदानको कदर गर्नुपर्छ।”
दमकल तथा नगर प्रहरी प्रमुख जेबी राईका अनुसार,ती कर्मचारीहरू नियमित बिदा नलिई निरन्तर २४ घण्टे ड्युटीमा खटिँदै आएका छन्।
"तिनीहरू बिना बिदा वर्षौँदेखि सेवामा छन्। अहिले आएको तलब वृद्धिले उनीहरूको मनोबल अझै बलियो हुनेछ," राईले बताए।
प्रतिक्रिया