विराटनगर । विराटनगर महानगरपलिका– ४ दुधफारम चोकमा चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।
विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल पछाडि ठोक्किएर दुर्घटनामा परेको थियो ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक र चालक मोरङ बुढीगंगा गाउँपालिका – १ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया