विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा अवस्थित बहुराष्ट्रिय कम्पनी आरती स्ट्रीप्स प्रालि २३ वर्षको निरन्तर सञ्चालनपछि अब नेपालबाट फिर्ता जाँदैछ । भारतको नयाँ नीति कार्यान्वयनसँगै कम्पनीको निर्यात पूर्ण रूपमा ठप्प भएपछि उद्योगले उत्पादन नै बन्द गर्ने निर्णय गरेको हो ।
सन् २००१ मा करिब ७ अर्ब रुपैयाँ (७ सय करोड) लागतमा स्थापना भएको आरती स्ट्रीप्सले सन् २००२ देखि सादा तथा रंगिन जस्ता, कर्कटपाता र पोल पाइप उत्पादन गर्दै आएको थियो । नेपालमा बिक्री हुने मात्र नभई भारतमा पनि यो कम्पनीका उत्पादनहरूको ठूला बजार थियो । कम्पनीले आफ्नो कुल उत्पादनको करिब ९० प्रतिशत सामान भारत निर्यात गर्दै आएको थियो ।
तर, भारत सरकारले हालै लागू गरेको नयाँ गुणस्तर प्रमाणीकरण नीतिले कम्पनीको निर्यात ठप्प भएको हो । भारतको ब्युरो अफ स्ट्यान्डर्ड्स (बीएसआई) ले अबदेखि केवल भारतमै उत्पादित कच्चा पदार्थ प्रयोग गर्ने उद्योगका सामानलाई मात्र प्रमाणीकरण दिने नीति ल्याएको छ । आरती स्ट्रीप्सले चीन र भारत दुवै देशबाट कच्चा पदार्थ आयात गर्दै आएको थियो । चीनबाट ल्याइएका कच्चा पदार्थबाट बनेका सामग्रीलाई बीएसआईले अस्वीकृत गरेपछि कम्पनीले भारत निर्यात गर्न नसक्ने अवस्था सिर्जना भयो ।
यस नीतिगत परिवर्तनपछि आरती स्ट्रीप्सले करिब २ महिनादेखि सम्पूर्ण उत्पादन, आयात र निर्यात रोक गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार उद्योगको सबै व्यापारिक क्रियाकलाप हाल पूर्ण रूपमा स्थगित छन् । ‘उद्योगको उत्पादन र निकासी दुबै बन्द छन्,’ उनले बताए ।
उद्योगले लामो समयदेखि घाटा व्यहोर्दै आएको थियो । पछिल्ला वर्षहरूमा भारतको नीतिगत कडाइ र चीनबाट आयातित कच्चा पदार्थको गुणस्तर विवादले कम्पनीलाई थप दबाबमा पारेको थियो । नाफा घट्दै गएपछि उद्योगले ठूलो संख्यामा श्रमिक कटौती गरिसकेको छ । श्रम तथा रोजगार विभागलाई पनि यसबारे औपचारिक रूपमा जानकारी दिइसकेको कम्पनी स्रोतले जनाएको छ ।
हाल उद्योगले नेपालस्थित सम्पूर्ण लगानी फिर्ता लैजाने अन्तिम तयारी गरिरहेको छ । उच्च स्रोतका अनुसार केही दिनभित्रै उद्योग परिसरमा रहेका मेसिनरी, पार्टपुर्जा र अन्य सामग्री हटाउने प्रक्रिया सुरु हुनेछ । यससँगै आरती स्ट्रीप्सले नेपालमा आफ्नो व्यवसायिक यात्रा औपचारिक रूपमा समाप्त गर्नेछ ।
आरती स्ट्रीप्सले आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सामान बिक्री गरेको थियो । तीमध्ये ७ अर्ब ३७ करोड रुपैयाँ बराबरका सामग्री भारत निर्यात गरिएका थिए । सो वर्ष उद्योगले २० अर्ब रुपैयाँको बिक्री लक्ष्य राखेको थियो । तर, भारतको नीतिगत परिवर्तन र नेपाल सरकारले उद्योगमैत्री बजेट नल्याएको कारण कम्पनीको विस्तार योजना समेत स्थगित भएको हो ।
कम्पनीले यसअघि दण्डी उद्योग (स्टील रड उत्पादन) को लागि ठूलो लगानी गर्ने तयारी गरेको थियो । तर, नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा उद्योगमैत्री नीति नल्याएपछि कम्पनीले सो योजना पनि रोक्ने निर्णय गर्यो ।
स्थानीय स्रोतका अनुसार आरती स्ट्रीप्सले सुरुवाती वर्षहरूमा राम्रो नाफा कमाए पनि पछिल्ला वर्षमा लगातार घाटा बेहोर्दै आएको थियो । कच्चा पदार्थको मूल्यवृद्धि, निर्यात अवरोध र सरकारी नीतिगत अस्थिरताले उद्योगलाई संकटतर्फ धकेलेको बताइएको छ ।
मोरङको बुढीगंगामा २ दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यस उद्योगले स्थानीय तहमा सयौं नेपालीलाई रोजगारी प्रदान गर्दै आएको थियो । उद्योग बन्द हुने भएपछि ठूलो संख्यामा श्रमिक बेरोजगार हुने खतरा बढेको छ । उद्योगले लामो समयसम्म नेपाल सरकारलाई कर, भन्सार र रोजगारका माध्यमबाट उल्लेखनीय योगदान दिएको थियो ।
हालसम्म कम्पनीले नेपाल सरकारलाई फिर्ता जाने औपचारिक जानकारी नदिए पनि, विश्वसनीय स्रोतका अनुसार कम्पनीले नेपालस्थित सम्पूर्ण लगानी समेटेर भारत फर्किने अन्तिम तयारी गरिरहेको छ ।
आरती स्ट्रीप्सको प्रस्थानसँगै नेपालमा विदेशी लगानी आकर्षित गर्ने वातावरणमाथि पुनः प्रश्न उठेको छ । निजी क्षेत्रका विज्ञहरूका अनुसार, नीतिगत अस्थिरता, बजेटीय उदासीनता र छिमेकी मुलुकको कडाइका कारण नेपालमा विदेशी उद्योग टिक्न गाह्रो भएको छ । उनीहरू भन्छन्, ‘नेपालले उद्योगमैत्री नीति र लगानी सुरक्षाको भरोसा नदिएसम्म बहुराष्ट्रिय कम्पनीहरू नेपालमा टिक्न सक्दैनन् ।’
२३ वर्षसम्म मोरङको औद्योगिक क्षेत्रलाई गति दिने आरती स्ट्रीप्सको बन्दले पूर्वी नेपालको औद्योगिक भविष्य र लगानी सम्भावनामा गम्भीर प्रश्न उठाएको छ । उद्योगीहरूले चेतावनी दिएका छन् — ‘आरती स्ट्रीप्सजस्ता ठूला लगानीकर्ता पलायन हुन थाले नेपालमा औद्योगिक पुनर्जागरणको सपना अझ टाढिँदै जानेछ ।’
प्रतिक्रिया