तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैन : राजन ढकाल

सोमबार, ०३ कार्तिक २०८२

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहारमा विद्युत आपूर्तिमा कुनै पनि किसिमको समस्या नआउने दाबी गरेको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारको समयमा देशका प्रायजसो उद्योगधन्दाहरू बन्द हुने भएकाले पनि विद्युत व्यवस्थापनमा कुनै समस्या नहुने बताए।

उनले भने,‘ तिहारको बेलामा भन्दा धेरै विद्युत खपत त अरु बेला नै हुन्छ।तिहारमा डोमेस्टिक लोड अलिकति बढ्ने चाहिँ हो, तर उद्योगहरू प्राय बन्द हुन्छन्।किनभने कामदारहरूलाई पनि छुट्टी हुने हुदाँखेरि विद्युतको समग्र माग चाहिँ तिहारमा त्यस्तो धेरै हुँदैन।त्यसले गर्दाखेरि हामीलाई व्यवस्थापन गर्न गाह्रो छैन।’

उनले आम जनतालाई ढुक्क भएर सक्दो विद्युत खपत गर्न आग्रह समेत गरे।सानो तिनो प्राविधिक समस्याबाहेक अन्य विद्युत आपूर्तिमा कुनै किसिमका समस्या नआउने उनको भनाई छ।

‘जति सक्दो बढी खपत गरे हुन्छ।देशभरी अन्धकार हुँदैन।अब कहीँ-कहीँ प्राविधिक समस्या सानोतिनो आउने भन्ने त भैहाल्छ।तर त्यस्तो देशभरी अन्धकार हुने भन्ने त्यस्तो हुँदैन,’ उनले भने।

प्रवक्ता ढकालले विद्युत आपूर्तिको रिलाएबल सप्लाई कसरी दिने भन्नेमा विषयमा प्राधिकरण लागिपरेको बताए।आसन्न तिहार र छठ पर्वलाई मध्यनजर गरेर नियमित विद्युत आपुर्ति कसरी गर्ने भन्ने विषयमा नै प्राधिकरणको फोकस रहेको उनले जानकारी दिए।

उनले भने, ‘विद्युत प्राधिकरणको पुरै फोकस भनेको यो विद्युत आपूर्तिको रिलाएबल सप्लाई कसरी दिने भन्नेमा नै छ।विशेष गरेर अब आसन्न तिहार र छठ पर्वलाई मध्यनजर गरेर, यो बेलामा सबै जना आ-आफ्नो घरमा बिदा मनाउन जाने पनि हुँदाखेरि नियमित विद्युत आपुर्ति कसरी हुन्छ भन्ने फोकसमा छौं हामी।देशैभरिका सबै वितरण केन्द्रहरूलाई सजग रूपमा राख्ने र यो बेलामा चाहिँ अविच्छिन्न रूपमा गएर आफ्नो ड्युटी गर्ने हिसाबले हामी तयारी गरिरहेका छौं।विद्युत प्राधिकरणले आफ्नो नियमित आयोजनाहरू त बढाईराखेकै छ।प्रसारण लाइन तिर आयोजनाहरू छन्, वितरण तिर आयोजनाहरू छन्।उत्पादन तिर भएका आयोजनाहरू पनि चलिरहेकै छन्, हामीले गरिराखेका छौं।’

त्यस्तै उनले तिहारको बेला सुरक्षित रुपमा विद्युतको प्रयोग गर्नका लागि सुझाव दिएका छन्।

उनले सुझाव दिँदै भने,‘विद्युत प्रयोग गर्दाखेरि सुरक्षित भएर चाहिँ गर्नुपर्यो।अब विद्युतीय दुर्घटनाहरू भइराखेका छन्।कतिपय हाम्रै असहज अध्ययनले गर्दाखेरि विद्युतीय दुर्घटनाहरू भइराखेका छन्।अब विद्युत हामीलाई नभई नहुने चिज पनि हो,तर सही तरिकाले प्रयोग गर्न सकेनौं भने त्यसबाट खतरा पनि हुन्छ।अब त्यो खालको सचेतता त गर्न जरुरी छ।बाहिर चाहिँ जथाभावी पोलहरू छुइदिनु भएन, कहीं चाहिँ संरचनाहरू भत्किएको देखिएमा,बिग्रिएको देखामा तुरुन्तै विद्युत प्राधिकरणको शाखामा खबर पनि गर्दिनुपर्यो।आफ्नो घरको वायरिङहरू ठीक गर्ने, अर्थिङ ठीक गर्ने, आफ्ना बालबालिकाहरूलाई पनि सचेत गराउनुपर्छ।खासगरी त विद्युतीय दुर्घटना नहोस् भन्ने नै हो।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार