धरान : सुनसरीको धरान उपमहानगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रिया विवादमा परेपछि नगरसभा असार १० मा गर्न नसकिने भएको छ ।
आजका(आइतबार) लागि आह्वान गरिएको नगर कार्यपालिकाको बैठक सुरु हुनु अघि नै उपमेयर अइन्द्र विक्रम बेघाले २८ जना सदस्यहरूको संयुक्त हस्ताक्षर सहितको पत्र मेयर हर्कराज राईलाई बुझाएका थिए ।
उक्त पत्रमा बजेट प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम नपुगेको उल्लेख गरिएको छ । उपमेयर बेघाका अनुसार, बजेट सिलिङको तयारी, वडाहरूमा जानकारी तथा तर्जुमा समिति गठन जस्ता आवश्यक चरणहरू नपुगेको अवस्थामा नगर कार्यपालिकाको बैठक बस्नु नै अनुचित हो ।
ऐन अनुसार वैशाख १० भित्र बजेटको प्राथमिक सिलिङ तय भई वैशाख १५ भित्र सम्बन्धित वडाहरूलाई जानकारी दिनुपर्ने व्यवस्था छ । त्यसपछि तर्जुमा समिति गठन गरेर बजेट तयार पार्ने र कार्यपालिकाको अनुमोदनमार्फत असार १० भित्र नगरसभामा पेस गरिनुपर्ने हो ।
तर धरानमा उक्त प्रक्रिया पुरा नभएको भन्दै उपमेयरसहित सबै २० वडाध्यक्ष र अन्य ८ जना सदस्यहरूले लिखित रूपमा आपत्ति जनाएका हुन् ।
बैठक सुरु हुनुअघि बोल्दै उपमेयर बेघाले भने, “बजेट प्रक्रिया कानुनी रूपमा अघि बढ्नुपर्ने हो । तर अहिलेसम्म कुनै तयारी नहुँदा नगरसभा राख्नु स्वीकृत मानिंदैन । त्यसैले २८ जना सदस्यहरूको सहमतिमा जानकारी गराउन आएका हौं ।
मेयर हर्क साम्पाङले नगरसभा स्थगनको घोषणा गर्दै बजेट प्रक्रिया आन्तरिक विवादका कारण प्रभावित भएको इंगित गरेका छन् । उनले सामाजिक संञ्जालमा लेखेका छन् । ‘बैठक बस्न सकेन ! कसैलाई के को चासो कसैलाई के को चासो ! मन नमिले पछि हामी यस्तै त हो नि हो ब्रो !’
प्रतिक्रिया