लहान : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले स्व. प्रदीप गिरीलाई मुलुकको प्रगति र परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वका रूपमा इतिहासले सदैव स्मरण गर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व. गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले गिरीको अभाव आज पनि देशले गहिरो रूपमा महसुस गरिरहेको बताए।
“स्व. प्रदीप गिरी सबै पार्टीका साझा नेता हुनुहुन्थ्यो। उहाँले विपी कोइरालाको विचारबाट प्रभावित भई समाज र देशको लागि ठूलो योगदान दिनुभयो,” मन्त्री खड्काले स्मरण गर्दै भने, “नेपाली जनतालाई रैतिबाट जनता बनाउन उहाँको भूमिका अमूल्य थियो।”
वर्तमान सरकारको संरचना र प्राथमिकताबारे उल्लेख गर्दै मन्त्री खड्काले जनताको चाहनामा आधारित सरकार गठन भएको र आगामी निर्वाचनसम्म दुई दलको सहकार्यमा सञ्चालन हुने बताए। “स्थायी सरकार नबनेसम्म विकास सम्भव छैन। यस सरकारको प्राथमिकता जनताको समस्याको समाधान हो,” उनले जोड दिए।
सिंचाइ र कृषिको क्षेत्रमा सरकारले लिएको कदमबारे जानकारी दिंदै मन्त्री खड्काले मधेश प्रदेशमा वडा–स्तरीय दाता संकलन र सिंचाइ व्यवस्थापनमा ठोस पहल भइरहेको बताए। “हामीले पहाडी भेगमा विद्युत उत्पादन गर्न सक्छौं तर यसको उपभोग र निर्यातका लागि तराई मार्ग अपरिहार्य छ,” मन्त्री खड्काले स्पष्ट पारे।
स्मृति कार्यक्रममा प्रमुख अतिथि डा. शशांक कोइरालासहित कांग्रेस नेता गुरु बराल, उर्मिला थपलिया, मधेश प्रदेश पार्टी सभापति कृष्ण यादव, सिरहा जिल्ला सभापति रामचन्द्र यादवलगायतका वक्ताहरूले स्व. प्रदीप गिरीको व्यक्तित्व, योगदान र विचारलाई उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रतिक्रिया