विराटनगर : मोरङको चर्चित उमा गौरी सहकारी ठगी प्रकरणमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित चार जनामाथि उच्च अदालत विराटनगरले जनही एक/एक करोड धरौटी माग गरेको छ।
यसअघि जिल्ला अदालत मोरङले कोइरालालाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यस्तै ज्योति बास्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश भएको थियो।
तर जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेपछि उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले आदेश उल्टाउँदै चारैजनालाई जनही १ करोड धरौटी तिर्नुपर्ने आदेश दिएको हो।
यस्तै सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई भने उच्च अदालतले सदर गरेको छ।
धनपालथान गाउँपालिकामा रहेको उक्त सहकारी संस्थाका ८ हजार ८४२ शेयर सदस्यको करिब २२ करोड ४८ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ।
प्रतिक्रिया