काठमाडौँ : गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैङ्कहरूले कर महसुलमा उल्लेख्य योगदान दिएका छन् ।
राष्ट्रभर सङ्कलन भएको कुल २ खर्ब ६७ अर्ब ६० करोड १५ लाख रुपैयाँ आयकरमध्ये २० वाणिज्य बैङ्कले मात्र ३२ अर्ब ८० करोड १५ लाख रुपैयाँ बुझाएर सरकारको कोषलाई सबल पारेका छन् । यो कुल आयकर सङ्कलनको १२.२६ प्रतिशत हिस्सा हो ।
सबैभन्दा बढी कर तिर्नेमा कुमारी बैङ्क अगाडि परेको छ । बैङ्कले ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर बुझाएर बैंकिङ क्षेत्रमै अग्रस्थान हात पारेको हो ।
यो रकम सरकारले सङ्कलन गरेको कुल आयकरको १.३७ प्रतिशत हो । विशेष कुरा के भने, कुमारी बैङ्कले गत वर्ष नाफाभन्दा बढी आयकर बुझाएर कर योगदानमा नयाँ कीर्तिमान राखेको छ । अघिल्लो वर्ष ९९ करोड ४४ लाख रुपैयाँ मात्र आयकर तिरेको यो बैङ्कले छोटो अवधिमै कर महसुलमा ठूलो फड्को मारेको छ ।
दोस्रो स्थानमा नबिल बैङ्क रहेको छ, जसले गत आर्थिक वर्ष ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर तिरेको छ । अघिल्लो वर्ष नबिलको कर योगदान २ अर्ब ३९ करोड ९० लाख रुपैयाँ मात्र थियो ।
त्यस्तै, २ अर्ब रुपैयाँभन्दा बढी कर तिर्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क (२ अर्ब ८५ करोड ३९ लाख), ग्लोबल आईएमई बैङ्क (२ अर्ब ५७ करोड ९३ लाख) र एभरेष्ट बैङ्क (२ अर्ब ५३ करोड २७ लाख) परेका छन् ।
यस अवधिमा सबैभन्दा कम कर बुझाउनेमा एनआईसी एसिया बैङ्क रह्यो, जसले ५ करोड ५१ लाख ५२ हजार रुपैयाँ मात्र आयकर तिर्यो । त्यस्तै, सिटिजन्स बैङ्कले ५४ करोड ५१ लाख, हिमालयन बैङ्कले ५७ करोड ३८ लाख र प्रभु बैङ्कले ८६ करोड २४ लाख रुपैयाँ कर बुझाएका छन् ।
गत आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूले ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् । नाफासँगै उनीहरूको कर योगदान पनि बढेको देखिन्छ, जसले देशको राजस्व सङ्कलनमा बैंकिङ क्षेत्र अझै महत्त्वपूर्ण हुँदै गएको सङ्केत दिएको छ ।
प्रतिक्रिया