कोशी प्रदेश बास्केटबल च्याम्पियनमा सुनसरीको 'डबल ह्याट्रिक'

आइतबार, ०८ असार २०८२

धरान : कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगितामा सुनसरी बास्केटबल टिमले उपाधि जित्दै डबल ह्याट्रिकको कीर्तिमान कायम गरेको छ। यससँगै सुनसरी टिम लगातार छैटौँ पटक प्रदेश च्याम्पियन बन्न सफल भएको हो।

धरान बास्केटबल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सुनसरीले इलाम बास्केटबल टिमलाई ८०–७३ अंकले पराजित गर्दै उपाधि हात पारेको हो।

आइतवार सम्पन्न फाइनल खेलको पहिलो क्वार्टरमा इलामले २५–११ को अग्रता लिएको थियो। दोस्रो क्वार्टरमा सुनसरीले १६–१५ को स्कोर निकाल्दै पहिलो हाफसम्म ४०–२७ अंकले पछि परेको थियो। तेस्रो क्वार्टरमा सुनसरीले उत्कृष्ट पुनरागमन गर्दै ३१–११ को स्कोर बनायो। चौथो क्वार्टरमा दुवै टिमले २२–२२ अंक जोड्दै खेल समाप्त भयो र उपाधि सुनसरीले आफ्नो पोल्टामा पार्‍यो।

यस जितसँगै सुनसरी टिमले पाचौं राष्ट्रिय प्रतियोगिता काठमाडौं, छैटौं धनगढी, सातौं पूर्वाञ्चल (हाल कोशी), आठौं मध्यपश्चिम, र नवौं गण्डकी प्रदेश स्तरीय प्रतियोगिताहरूमा पनि लगातार उपाधि जित्दै डबल ह्याट्रिक पूरा गरेको हो।

विजेता सुनसरी टिमले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता इलामले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। फाइनल खेलको ‘म्यान अफ द म्याच’को उपाधि सुनसरीका कैलाश लिम्बूले जिते। उनलाई ट्रफी प्रदान गरिएको थियो। यस्तै, प्रतियोगिताको ‘धरान मेघा उत्कृष्ट खेलाडी’को उपाधि सुनसरीकै सुसन श्रेष्ठलाई प्रदान गरियो। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री माननीय पाँचकर्ण राईले रेफ्रीलाई बल हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए। कार्यक्रममा माननीय विजयकुमार राई, धरान–१८ का वडाध्यक्ष प्रविण राई, धरान–१७ का वडाध्यक्ष मनोज भट्टराई, धरान–८ का वडाध्यक्ष धनबहादुर राई, तथा सुनसरी फुटबल संघका अध्यक्ष नवीन राईको पनि उपस्थिति थियो।

धरान उपमहानगरपालिका र सुनसरी बास्केटबल संघको विशेष सहयोगमा सम्पन्न प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुंगा, र धनकुटा गरी ८ वटा जिल्ला टिमको सहभागिता थियो। प्रतियोगिता असार ५ गतेदेखि डिपो स्कुलको बास्केटबल कोर्टमा सुरु भई आज ८ गते सम्पन्न भएका थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार