विराटनगर : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गत मोरङको विराटनगर खण्डको निर्माण ५ वर्ष बितिसक्दा पनि अधुरै छ। हाटखोलादेखि रामचोकसम्मको ६ किलोमिटर सडक अहिलेसम्म पूरा हुन सकेको छैन। २०७६ सालमै सुरु भएको यो आयोजनाको हालसम्म २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ।
इटहरीस्थित हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका प्रमुख युवराज पोखरेलका अनुसार ७७ करोड लागतमा ठेक्का दिइएको यो खण्डको लागि १६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। तर, निर्माणको अवस्था अत्यन्तै निराशाजनक छ। वर्षातमा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने यो सडक स्थानीयको दैनिक सास्तीको कारण बनेको छ।
ठेक्का पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले पेटी ठेकेदार मार्फत काम गराए पनि निरन्तरता दिन सकेन। सुरुमा भूपाल श्रेष्ठले जिम्मा लिएका थिए, पछि उनले पनि काम छाडे। पछिल्लो पाँच महिनायता अभिषेक गिरीको जिम्मामा सडकको काम परे पनि गति अत्यन्तै सुस्त छ।
गिरीका अनुसार आयोजनाले हालसम्म कुनै भुक्तानी नदिएकोले काम अघि बढाउन कठिन भएको हो। बिजुलीका पोल अझै सडकमा छन् भने साइड ड्रेनसमेत अधुरै छ।
यो सडकको दुरावस्था सुधार गर्नका लागि मोरङ क्षेत्र नं. २ का सांसद ऋषिकेश पोखरेल, क्षेत्र नं. ५ का योगेन्द्र मण्डलसहित प्रदेश सांसद, स्थानीय जनप्रतिनिधिहरूले पत्रकार सम्मेलन गरी ठेकेदारलाई दबाब दिएका थिए। जनस्तरबाट पनि जिल्ला प्रशासन कार्यालय घेराउदेखि चक्काजामसम्मका आन्दोलन भए। तर, ठेकेदार पक्षले बेवास्ता गर्दै आएको छ।
आयोजना प्रमुख पोखरेलका अनुसार हुलाकी सडकको मोरङ खण्डमा ४४ किलोमिटर सडक पर्छ । जसमा हालसम्म २२ प्रतिशत मात्रै काम भएको हो। बजेट अभावकै कारण यो वर्ष कामको भुक्तानी गर्न नसकिएको र आगामी आर्थिक वर्षमा फेरि म्याद थप गरिने तयारी भइरहेको उनले बताए। यद्यपि, लागत भने नबढाइने जनाइएको छ।
प्रतिक्रिया