विराटनगर । प्रतिनिधि सभाको आजको बैठकमा ‘खाली कागजमा हस्ताक्षर’ प्रकरणलाई लिएर वाकयुद्ध भयो । राप्रपाकी सांसद रोशन कार्कीले एमाले र नेपाली कांग्रेसका सांसदले उपसभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नका लागि खाली पानामा सही गरेको आरोप लगाउँदै ‘धिक्कार होस्’ भनेपछि वातावरण तातिएको हो ।
कार्कीले सभामुखको अनुमति लिएर बोल्दै सत्तारूढ दलले उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने घिनलाग्दो रणनीति बनाएको दाबी गरिन् । उनले भनिन्, “हिजो दिनभर नौटंकी देखियो, एमाले र कांग्रेसले आफ्ना माननीयज्यूलाई खाली कागजमा सही गराएको भन्ने सुन्न पाइयो । यो केका लागि भने उपसभामुखलाई हटाउन, महाअभियोग लगाउन ! संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर यस्तो खेल गरिएको हो । यसरी सही गर्ने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीय ? धिक्कार होस् !”
उनको अभिव्यक्तिप्रति एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री तत्काल आक्रोशित बने । उनी आफ्नो सिटबाट उठेपछि सभामुख देवराज घिमिरेले कारण सोध्दा कार्कीले जवाफ फर्काइन्, “उहाँको बानी त्यस्तै हो, जहिले पनि जुरुक्क उठ्ने ! बोल्न दिनुस् !”
थापा क्षेत्रीले भने कार्कीको अभिव्यक्ति असंसदीय भएको दाबी गर्दै संसद् नियमावलीको नियम २१ अनुसार आपत्ति जनाए । उनले भने, “आरोपपूर्ण, अपमानपूर्ण, गालीगलौजपूर्ण अभिव्यक्ति रेकर्डमा रहनु हुँदैन । हामी मण्डलेतन्त्रविरुद्ध लडेर आएका जनताको प्रतिनिधि हौँ, कस्तो कागजमा सही गर्ने भनेर सिकाइरहनु पर्दैन ।”
पुनः बोल्ने मौका पाउँदा कार्कीले एमाले–कांग्रेसलाई दुईदलीय शासन प्रणालीतर्फ अघि बढ्न खोजेको आरोप दोहोराइन् । उनले साना दलका सांसदलाई सचेत रहन आग्रह गर्दै चेतावनी दिइन्, “सत्तापक्षको कुर्सीमा बस्ने साना दलहरु, सचेत रहनुहोस्, आफ्नै बाघको शिकार हुनुहुनेछ !”
प्रतिक्रिया