विराटनगर : नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चापागाईँले काँग्रेस–एमाले सम्मिलित वर्तमान सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् ।
कोशी प्रदेशसभाको बुधवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्ता साझेदार दलहरू भ्रष्टाचारमा लिप्त रहेको गम्भीर आरोप लगाए । उनले दुई ठुला दलको गठबन्धन ‘काले काले मिलेर भाले खाने’ उद्देश्यले बनेको भन्दै सरकारको एक वर्षे कार्यकालको चर्को आलोचना गरे ।
सङ्घीय तथा प्रदेश सरकार सञ्चालनको एक वर्षलाई हेर्दा सरकार निरङ्कुश र स्वेच्छाचारी बन्दै गएको उनको दाबी छ । ‘आज जहाँ सरकार, त्यहाँ भ्रष्टाचार भन्ने मान्यता स्थापित भएको छ,’ उनले भने, ‘यो गठबन्धन आफू र आफ्नालाई जोगाउन मात्र बनेको हो भन्ने कुरा प्रधानमन्त्री स्वयंले ‘हामी नमिलेको भए जेल हाल्ने तयारी थियो’ भनेर पुष्टि गरिसक्नुभएको छ ।’
चापागाईँले सरकारले संवैधानिक परिषद्मा बहुमत पु¥याउन सङ्घीय संसद्मा एक महिला उपसभामुखलाई हटाउन खोजेको भन्दै त्यसको घोर निन्दा गरे । उनले दुई तिहाइको बलमा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई समेत नियन्त्रणमा लिन खोजेको आरोप लगाए । ‘सङ्घमा जस्तै प्रदेशमा पनि सभामुख हटाएर सत्तापक्षबाटै नयाँ सभामुख बनाउने कसरत भइरहेको हल्ला छ,’ उनले भने, ‘यदि यो साँचो हो भने प्रदेशको अस्थिरतालाई थप मलजल नगर्न म प्रमुख दुई दललाई आग्रह गर्दछु ।’
प्रदेश सरकारले सरकारी कामकाजको भाषामा लिम्बू र मैथिली भाषालाई समावेश गर्न ल्याएको विधेयकको स्वागत गर्दै उनले सत्तापक्षलाई जस लिन हतारो भएको आरोप लगाए । उनले भने, ‘सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धि माओवादी जनयुद्ध र यसका नेता प्रचण्डको देन हो । एउटा विधेयक ल्याएर जस लिन खोज्नुको अर्थ छैन, यसको जस युग युगसम्म माओवादीले नै पाउनेछ ।’
प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष र लगानी सम्मेलनको उपलब्धिमाथि पनि उनले प्रश्न उठाए । ‘पर्यटन वर्षपछि कति पर्यटक भित्रिए ? लगानी सम्मेलनपछि कुन–कुन परियोजना सुरु भए र कति लगानी सुनिश्चित भयो ? यसको विवरण सरकारले सदनलाई दिनुपर्छ,’ उनले भने ।
उनले सरकार भागबन्डा र सेटिङमा व्यस्त रहेको तर प्रदेशको स्थायी संरचना निर्माणमा उदासीन रहेको आरोप लगाए । आफ्नो मन्तव्यको अन्त्यमा उनले सत्तापक्षका नेताहरूबाटै आएका ‘प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच’ र ‘सहयात्री दलले सरकारी जग्गा देख्नै नहुने’ जस्ता अभिव्यक्ति स्मरण गराउँदै यस्तो राज्य दोहनबाट मुलुकलाई बचाउन सचेत नागरिकले विकल्प खोज्ने बेला आएको बताए ।
प्रतिक्रिया