मोरङको लेटाङमा खोलाले बगाउँदा दुई जनाको मृत्यु

बुधबार, ०४ भदौ २०८२

विराटनगर : मोरङको लेटाङमा बुधबार साँझ खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लेटाङ नगरपालिका–१ अमलबोटेका अन्दाजी ७५ वर्षीय बुद्धवीर तामाङ र लेटाङ–२ किराँत चोक निवासी ५० वर्षीय च्याङ्बा भनिने टिंके घिसिङ रहेका छन्।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार बुधबार साँझ करिब ५स्३० बजे लेटाङ बजारबाट घरतर्फ फर्कने क्रममा लेटाङ–६ लामिटारस्थित बगुवा भन्ने ठाउँमा चिसाङ खोला तर्दै गर्दा दुवै जनालाई बगाएको हो।

प्रहरीले दिएको प्रारम्भिक अनुसन्धान अनुसार दुवै जना एकैपटक खोला तर्ने क्रममा बेपत्ता भएका थिए। खोजी गर्दा करिब ८ सय मिटर तल बुद्धवीर तामाङलाई स्थानीयले उद्धार गर्दा नै उनको मृत्यु भइसकेको थियो। त्यस्तै, करिब ९ सय मिटर तल खोलाको बीचभागमा टिंके घिसिङको शव फेला परेको प्रहरीको भनाइ छ।

घटनापछि इलाका प्रहरी कार्यालय लेटाङबाट इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोली खटिएको थियो। टोलीले कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय लेटाङबाट करिब ६ किलोमिटर उत्तर–पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार