मजदुर भवन निर्माणमा अध्यक्ष भीमज्वाला राईद्धारा ३० हजार सहयोग

बुधबार, ०४ भदौ २०८२

इटहरी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीले सुरु गरेको भवन निर्माण अभियानलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले नगद ३० हजार रुपैयाँ सहयोग गरेका छन् ।

बुधबार इटहरीमा आयोजित प्रदेशस्तरीय अगुवा भेलामा अध्यक्ष राईले सहयोग घोषणा गरेका हुन् । उक्त भेला यातायात मजदुर भवन निर्माणको तयारीका लागि आयोजना गरिएको थियो । संगठनका कोशी प्रदेश अध्यक्ष गौरी लामाका अनुसार इटहरीस्थित ट्राफिक प्रहरी कार्यालयको उत्तरतर्फ, पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको दश धुर क्षेत्रफलमा दुईतले भवन निर्माणको योजना अघि बढाइएको छ ।

संगठनका सचिव महेश घिमिरेका अनुसार भवनको तल्लो तलामा चार कोठा रहनेछन् भने माथिल्लो तलामा एउटा ठूलो हलसहित तीन कोठा रहने व्यवस्था हुनेछ । आउँदो असोज १ गते विश्वकर्मा पूजाको दिन अध्यक्ष राईकै हातबाट भवन शिलान्यास गर्ने तयारी भएको संगठनका प्रदेश कमिटीका कोषाध्यक्ष काजी राईले जानकारी दिए । उनका अनुसार करिब ६५ लाख रुपैयाँ लागतमा बन्ने भवन निर्माणमा डेढ वर्ष लाग्ने अनुमान गरिएको छ ।

भवन निर्माणको लागि ५० प्रतिशत लागत संगठनकै स्रोतबाट जुटाइने र बाँकी रकम शुभेच्छुक र सहयोगी हातबाट संकलन गर्ने योजना रहेको अध्यक्ष लामाले बताए । हाल संगठनका ३६ वटा जिल्ला, पालिका तथा इकाई कमिटीहरू कोशी प्रदेशभर कार्यरत छन् ।

सन् १९७९ (वि.सं. २०३६ असार ९ गते) मा सुनसरीको पानीपिया जंगलमा भूमिगत रुपमा स्थापना भएको यो संगठन अहिले देशकै पुरानो र प्रभावशाली मजदुर संगठनका रूपमा परिचित छ ।

बुधबार सम्पन्न कार्यक्रममा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, संगठनका केन्द्रीय उपमहासचिव देवी भट्टराई, केन्द्रीय सदस्यहरू, कोशी प्रदेशका पूर्व अध्यक्षहरू तथा मातहत कमिटीका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार