काठमाडौँ । कुवेतमा मृत्यु भएका ४ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । नेपाली दूतावास कुवेतले ४ वटा शव नेपाल पठाएर परिवारले बुझिसकेको र एक जनाको शव बुधबार पठाउन लागिएको जनाएको छ ।
नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनबाट केही दिनको फरकमा अघिल्लो साता १२ जनाको मृत्यु भएको थियो । मृत्यु भएका बाँकी श्रमिकको शव पठाउन प्रक्रिया चलिरहेको उनको भनाइ छ ।
उनले अहिले पनि १५ जना बिरामीहरूको कुवेतका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । जसमध्ये १२ जना आईसीयूमा छन् । कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा नेपाली प्रभावित भएका हुन् । उक्त घटनामा केही नेपाली पक्राउ समेत परेको समाचारमा जनाइएको छ ।
यद्यपि दूतावासले आफूहरूले यसबारे बुझिरहेको भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।आजै प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्यहाँ नेपाली कामदारको भएको मृत्युबारे संसद्मा जानकारी गराउन माग गरेका थिए । कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ ।
प्रतिक्रिया