जीवन लुईँटेल ७ वर्षपछि अभिनयमा फर्किंदै

बुधबार, ०४ भदौ २०८२

काठमाडौँ ।  अभिनेता जीवन लुईँटेल ७ वर्षपछि फिल्म अभिनयमा फर्किएका छन् ।

फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘सकम्बरी’ बाट लुइँटेलको पुनरागमन हुने भएको हो । बुधबार उनले फिल्म सम्झौता गरेका हुन् । उनीसँगै फिल्ममा अभिनेता अर्पण थापाको पनि महत्वपूर्ण भूमिका हुने भएको छ । 

फिल्ममा अनुबन्धको सम्झौतापछि लुइँटेलले सामाजिक सञ्जालमा केही वर्षको कमर्शियल ब्रेकपछि फर्किएको बताएका छन् । उनले भनेका छन्- 'केही वर्षको कमर्शियल ब्रेकपछि म फर्किएको छु । फिल्म ‘सकम्बरी’मा ‘सुयोगवीर’को रुपमा फर्किँदैछु । मैले धेरै पटकथाहरू खोजेँ, तर मेरो मनलाई पछ्याएँ र यो रोजेँ । अनुभवी अर्पण थापासँग स्क्रिन सेयर गर्न म उत्साहित छु ।’

गत महिना कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘शिरीषको फूल’मा पनि जीवनले ‘सुयोगवीर’कै भूमिकामा अभिनय गरेका थिए । अब सोही पात्र उनले फिल्ममा निर्वाह गर्नेछन् । अर्पण भने ‘शिवराज’को भूमिकामा देखिने बताइएको छ ।

फिल्मको छायांकन म्यानमार (बर्मा) र नेपालमा हुने बताइएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्मका निर्देशक र मुख्य अभिनेत्री (सकम्बरी) बारे अझै तय नभएको निर्माण पक्षले जानकारी दिएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार