इटहरीका मेयरसहित पाँच जना सम्मानित

बुधबार, ०४ भदौ २०८२

इटहरी : स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरीले बुधवार इटहरीका मेयर हेमकर्ण पौडेलसहित पाँच जनालाई सम्मान गरेको छ ।

 स्ववियू भवन उद्घाटनको अवसरमा पूर्व सभापतिको हैसियतमा मेयर पौडेलसहितलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा स्ववियूका पूर्व सभापति उमेश पौडेल, राजकुमार सापकोटा, किशोर कोइराला र रमेशकुमार पोखरेललाई सम्मान गरिएको हो । 

समुदायद्वारा स्थापित जनता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका लागि इटहरी उपमहानगरपालिका र जनता बहुमुखी क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको भवनको पनि उद्घाटन गरियो ।

भवनको इटहरीका मेयर पौडेल र जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीद्वारा संयुक्त रूपमा उद्घाटन गरे ।

स्ववियू भवन निर्माण गर्नका लागि इटहरी उपमहानगरपालिकाले दस लाख र कलेजले अरू पैसा बेहोर्ने सर्तमा भवन निर्माण भएको हो । स्ववियू सभापति सहदेव काफ्लेका अनुसार भवन एउटा हलसहित तीन कोठे रहेको छ ।

सोही क्रममा इटहरीको निजी शिक्षालय विश्व आदर्श कलेजले खानेपानीको ट्याङ्की एवम् पिउने पानीको व्यवस्था पनि स्ववियू भवनमा गरी दिएको जानकारी दिइयो ।

कार्यक्रममा मेयर पौडेलले राजनीतिक संस्कार विकृत ढङ्गले अघि बढेको बताउँदै विद्यार्थीले यसलाई सही ट्र्याकमा लिएर अघि बढ्नुपर्ने बताए । उनले जनता बहुमुखी क्याम्पसमा विकास केसीले नेतृत्व गरेपछि क्याम्पसको प्रगतिले फड्को मारेकोमा प्रशंसा गरे ।

सो कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष विकास केसी, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे, राप्रपा इटहरीका अध्यक्ष आकाशहाङ् लिम्बुलगायतले बोलेका थिए । कार्यक्रम स्ववियू सभापति सहदेव काफ्लेको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार