पूर्वराष्ट्रपति भण्डारी र मुख्यमन्त्री कार्कीबीचको भेटवार्ताले  एमालेभित्र हलचल

मंगलबार, ०३ भदौ २०८२
तस्बिर : फाइल

विराटनगर । पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच सोमबार राति विराटनगरको बिग होटलमा भेटवार्ता भएको छ । मुख्यमन्त्री कार्की आर्थिक मामिला मन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला मन्त्री रेवतीरमण भण्डारी, खानेपानी मन्त्री एकराज कार्की र सामाजिक विकास मन्त्री पाँचकर्ण राईसहित भण्डारीलाई भेट्न पुगेका थिए ।

भेटमा करिब एक घण्टा मुख्यमन्त्री कार्की र भण्डारीबीच ‘वान टु वान’ छलफल भएको थियो । सो क्रममा भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अपमानित गरेको गुनासो पोखेको निकट स्रोतले जनाएको छ । हालै सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीलाई एमाले नेतृत्वले सदस्यता नवीकरण नगर्ने निर्णयसँगै उनको विषयमा छलफलसमेत नगर्न निर्देशन दिएको थियो ।

भण्डारीप्रति ओलीको असन्तुष्टि र त्यसैबीच प्रदेश सरकारको शीर्ष नेतृत्वले उनलाई भेट्न पुग्नु एमालेभित्र शक्ति संघर्ष बढ्दै गएको संकेतको रूपमा लिइएको छ । यसअघि ओलीले भण्डारीबारे कुनै छलफल नगर्न निर्देशन दिएका भए पनि सोमबारको भेटवार्ताले उक्त निर्देशनलाई चुनौती दिएको देखिएको छ ।

विद्या भण्डारी लामो समयसम्म ओलीकै निकट नेतृको रूपमा परिचित रहे पनि पछिल्लो समय उनीहरूबीच सम्बन्ध चिसिएको देखिन्छ । विश्लेषकहरूका अनुसार विराटनगरमा भएको भेट एमालेभित्र नयाँ समीकरणको संकेत हुन सक्छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार