भाइटिका नजिकिँदा धरानमा सयपत्री फुलको अभाव, मूल्य दोब्बरले वृद्धि

मंगलबार, ०४ कार्तिक २०८२

धरान । तिहार नजिकिँदै जाँदा धरानमा सयपत्री फुलको अभाव देखिएको छ । स्थानीय उत्पादन घट्नुका साथै भारतीय फुलको आयात रोकिएपछि बजारमा फुलको मूल्य दोब्बरले वृद्धि भएको व्यापारीहरूले बताएका छन् ।

गत वर्ष मुठा प्रति ३० देखि ४० रुपैयाँमा बिक्री भएको सयपत्री फुल अहिले बजारमा प्रति मुठा २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज थोक बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यो वर्ष उत्पादन घट्दा आपूर्ति अत्यन्त न्यून भएको र त्यसकै असर मूल्यमा परेको हो ।

भट्टराईका अनुसार गत वर्ष किसानहरूले फुलको उचित मूल्य नपाएपछि यस वर्ष धेरैले सयपत्री खेती नै नगरेका हुन् । “उत्पादन घटेपछि बजारमा आपूर्ति कमी छ, उपभोक्तालाई महँगो मूल्य तिर्न बाध्य हुनुपरेको छ,” उनले भने । उनका अनुसार धरान क्षेत्रमा करिब चार लाख माला आवश्यक पर्छ, तर हाल बजारमा सोको २५ प्रतिशत मात्रै फुल उपलब्ध छ ।

फुल आपूर्ति अभावका कारण भारतबाट फुल आयात गर्नुपर्ने अवस्था आएको भए पनि अहिले त्यहाँबाट निर्यातमा प्रतिबन्ध रहेकाले बजारमा अभाव झनै चर्किएको छ । यस वर्ष धनकुटा, तेह्रथुम र मोरङका केही स्थानबाट मात्र फुल आएको छ भने भोजपुर र संखुवासभाका किसानहरूले गत वर्षको घाटा अनुभव गरेपछि फुल खेती नगरेको बताइएको छ ।

स्थानीय फुल व्यापारी श्याम जैसवालका अनुसार सीमित किसानकहाँ धेरै व्यापारी पुग्दा खरिद मूल्य आफैं बढेको हो । “जहाँ १० गाडी फुल चाहिन्छ, त्यहाँ अहिले एक गाडी मात्रै आइरहेको छ । त्यसैले किसानको भाउ बढ्दा खुद्रा मूल्य पनि दोब्बर भएको हो,” उनले बताए ।

धरानमा तिहारका बेला लाखौँ सयपत्री र मखमली माला आवश्यक पर्छ । तर यस वर्ष उत्पादन घट्नु, मौसमी प्रतिकूलता र आयात प्रतिबन्धका कारण बजारमा फुल अभाव देखिएको व्यापारीहरूको भनाइ छ । फुलको कमीले कतिपय उपभोक्ताले वैकल्पिक रूपमा कृत्रिम फुल वा अन्य सजावटी सामग्री प्रयोग गर्न थालेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार