इटहरीमा सौन्दर्यकर्मी युनियनको तीज विशेष : मौलिकता हराउँदै गएको चिन्ता

विहीबार, ०५ भदौ २०८२

इटहरी : महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा नेपाल सौन्दर्यकर्मी युनियन नेपाल, इटहरी नगर समितिले इटहरीमा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा युनियनकी नगर अध्यक्ष पूजा भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा युनियनकी कोशी प्रदेश सदस्य एवम् इटहरी नगर समितिकी संस्थापक अध्यक्ष सृजना बस्नेतले प्रमुख आतिथ्य ग्रहण गरेकी थिइन् ।

तीजको उल्लासपूर्ण वातावरणमा आयोजित कार्यक्रममा महिलाहरूले परम्परागत भेषभूषामा सजिएर शुभकामना साटासाटसँगै नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युनियनकै समीक्षा लिम्बु, रेजिना तिम्सिना, जिना पौडेल, निशा पौडेललगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए । साथै, ब्युटिसियन पेशामा नवआगन्तुक युवतीहरूले समेत आफ्नो पेशा प्रति गर्व अनुभव भएको अभिव्यक्ति दिएका थिए ।

Untitled design (97)

 पछिल्लो समय मौलिकता हराउँदै गएको भन्दै सौन्दर्यकर्मीहरूले तिज पर्वलाई विशेष उत्सवका रूपमा महिलाले अघि बढाउनुपर्नेमा जोड दिएका छन् । तिजको नाममा बाह्य संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै उनीहरूले मौलिक परम्पराभित्र रहेर उत्साहका साथ मनाउन सके यस पर्वको गरिमा अझ उच्च हुने बताएका छन्।

कार्यक्रममा बोल्दै सौन्दर्यकर्मीहरूले तिजलाई केवल “नाचगानको दिन” वा “फेसन प्रदर्शन” मा सीमित नगरी यसलाई नारी स्वतन्त्रता, सामाजिक एकता र सांस्कृतिक पहिचानको पर्व का रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली महिलाले पनि तिजलाई भव्य रूपमा मनाउने तथ्याङ्क प्रस्तुत गर्दै उनीहरूले यो पर्व विश्वव्यापी सांस्कृतिक चिनारी बन्दै गएको उल्लेख गरे।

सौन्दर्यकर्मीहरूको भनाइमा, “तिजको आकर्षण रहँदा रहँदै यसको मौलिकता हराउँदै जाने हो भने भविष्यमा यो केवल ‘फेशन पर्व’ मा सीमित हुनेछ। त्यसैले मौलिक भेषभूषा, परम्परागत नृत्य, गीत र सांस्कृतिक रीतिरिवाजलाई जोड दिँदै मनाउनु जरुरी छ।”

कार्यक्रममा सहभागी महिलाले आधुनिकतालाई अस्वीकार नगरी तर मौलिकतालाई आधार बनाएर तिजलाई अझ आकर्षक र गरिमामय बनाउनुपर्नेमा एकमत जनाएका थिए।

Untitled design (95)

युनियनकी अध्यक्ष भट्टराईका अनुसार कार्यक्रममा करिब ४० जना महिलाको सहभागिता रहेको थियो । सामाजिक गतिविधिमा समेत सक्रिय युनियनले यसअघि रक्तदान, सरसफाइ अभियान, ब्युटिसियन तालिमलगायतका कार्यक्रम गर्दै आएको अनुभव छ ।

कार्यक्रमले सौन्दर्यकर्मी पेशामा लागेका महिलाबिच आपसी सद्भाव, ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउन मद्दत गर्ने सहभागीहरूको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार