इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा बन्ने आकासे पुल अन्ततः निर्माणको चरणमा पुगेको छ ।
सार्वजनिक चासोको विषय बनेको यो योजना प्रशासनिक झमेलाका कारण लामो समय रोकिएको थियो । अब भने ठोस कार्यान्वयनको मोडमा पुगेको छ ।
२०८० साल फागुन १८ गते रेजेन्सी बिल्डर्स प्रालिसँग दुई वटा आकासे पुल निर्माणको लागि सम्झौता भएको थियो । तर, सम्झौता भइसके पनि उपमहानगरपालिका र सडक विभागबिच आवश्यक समन्वय नहुँदा काम अघि बढ्न सकेको थिएन ।
खासगरी ६ लेन सडक विस्तारसँग सम्बन्धित स्वीकृति र अनुमति प्रक्रिया अस्पष्ट हुँदा पुल निर्माण रोकिएको हो । उपमहानगरले स्वीकृति नलिई ठेक्का प्रक्रिया अघि बढाएपछि सडक विभागले काम रोक्न निर्देशन दिएको थियो ।
अहिले भने यी सबै समस्या समाधान भइसकेको छ । इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार ६ लेन सडक आयोजना र सडक विभागबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै, ठेकेदार कम्पनीको म्याद थपसम्बन्धी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । घिमिरेका अनुसार अब निर्माण कार्य प्रारम्भ गर्ने अन्तिम तयारी भइरहेको छ ।
दुई वटा आकासे पुलमध्ये एउटा इटहरी चोकस्थित सार्वजनिक शौचालयनजिक धरान लाइनतर्फको भागमा पर्नेछ । जसको लम्बाइ ३५ मिटर रहनेछ । अर्को पुल बिराटनगरलाइनको नबिल बैङ्क अगाडिको भागमा निर्माण हुनेछ । त्यसको लम्बाइ २७ मिटर हुनेछ ।
यी दुवै पुलको निर्माण लागत ४ करोड ५१ लाख ६३ हजार रुपैयाँ अनुमान गरिएको छ । सम्झौताअनुसार निर्माण कार्य १ वर्षभित्र सम्पन्न गर्नुपर्ने भए पनि तोकिएको म्याद २०८१ फागुन १६ मा नै गुज्रिसकेको थियो । अहिले म्याद थप गर्दै निर्माण प्रक्रिया अघि बढाउन लागिएको हो ।
पुल निर्माणको जिम्मा लिएको रेजेन्सी बिल्डर्स सरकारी तथा निजी क्षेत्रका ठुला पूर्वाधार आयोजनामा लामो अनुभव हासिल गरिसकेको कम्पनी हो । कम्पनीले गुणस्तरीय र समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
इटहरीको मुख्य चोक पूर्व–पश्चिम र उत्तर–दक्षिणको सङ्गम हो । त्यहाँ दैनिक हजारौँ पैदलयात्री र सवारीसाधनको चाप अत्यधिक हुने गर्दछ । चोकको चारै दिशाबाट आउने पैदलयात्रुले सडक पार गर्न निकै कठिनाइ भोग्दै आएका छन् । खासगरी विद्यालय जाने बालबालिका, वृद्ध-वृद्धा र महिलाहरूका लागि ट्राफिक जामबीच सडक पार गर्नुपर्ने जोखिम हुन्छ ।
त्यसैले स्थानीय व्यापारी,ट्राफिक प्रहरी र सर्वसाधारणले आकासे पुल निर्माणको माग विगत पाँच–सात वर्षदेखि गर्दै आएका थिए । सर्वपक्षीय मागलाई सम्बोधन गर्दै इटहरी उपमहानगरपालिकाले आकासे पुलको योजना अघि सारेको हो ।
स्थानीय व्यवसायीहरूका अनुसार ग्राहकले पसलमा आउँदा सडक पार गर्न निकै सास्ती झेल्नुपर्थ्यो । इटहरी–५ का व्यापारी रमेश कार्की भन्छन्,‘अब आकासे पुल बनेपछि व्यापार पनि सजिलो हुन्छ । ग्राहक र बालबालिका पनि सुरक्षित हुनेछन् ।’
इटहरीमा बन्ने आकासे पुल काठमाडौँको नयाँ बानेश्वरमा बनेको पुलको शैलीमा निर्माण गरिने भएको छ । सोही डिजाइनलाई स्थानीय सन्दर्भमा परिमार्जन गरी निर्माण गर्न लागिएको उपमहानगरले जनाएको छ ।
तर, नयाँ बानेश्वर शैलीको आकासे पुलहरूमा अपाङ्गतामैत्री पहुँचको अभाव हुने चिन्ता बढेको छ । इटहरीमा बन्ने संरचना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज हुने कि नहुने भन्नेमा सार्वजनिक चासो देखिएको छ ।
इन्जिनियर घिमिरेका अनुसार समावेशी पहुँचका सन्दर्भमा समेत निगरानीका लागि सुझाव सङ्कलन गरिनेछ र आवश्यक सुधार गरिनेछ । ‘यो पुल केवल भौतिक संरचना होइन.सामाजिक रूपमा पहुँचयोग्य र सुरक्षित पूर्वाधार पनि हो,’उनले भने ।
निर्माणको सुरुवाती ढिलाइप्रति केही असन्तोष देखिए पनि अहिले प्रक्रिया अगाडि बढेकामा नगरवासीहरू आशावादी बनेका छन् ।
इटहरी–६ की समाजसेवी सुनिता साह भन्छिन्, ‘हामीले बर्सौँ पर्खेका थियौँ । अब काम देखिने गरी सुरु हुन लागेको सुन्दा खुसी लागेको छ ।’
यता इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.६ का वडाध्यक्ष दिवस पोखरेलले इटहरीमा आकाशे पुल निर्माण सँगै सर्वसाधारणले लामो समयदेखि भोग्दै आएको आवागमन समस्याको समाधान हुने दाबी गरेका छन्।
उनका अनुसार, स्थानीय तहको चुनावका बेला आफूसहित नेतृत्व टोलीले इटहरीमा सुरक्षित र व्यवस्थित सडक पार गर्ने व्यवस्था स्वरूप आकाशे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए। “हामीले जुन वाचा गरेका थियौँ, त्यो बाचा पुरा गर्दैछौं,”पोखरेलले भने,“अब इटहरीवासीले पैदल यात्रामा भोग्दै आएको जोखिम र असहजता हट्नेछ।”
उनले आगामी दिनमा इटहरीलाई झन् सुरक्षित,स्मार्ट र सर्वसुलभ सहर बनाउने योजनामा आकाशे पुलले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार पुल बनेपछि सडकबाट बाटो पार गर्ने नागरिकको सङ्ख्या कम हुने भएकाले दुर्घटनाको जोखिम न्यून हुनेछ । ट्राफिक चाप व्यवस्थापन गर्नसमेत सहज हुने विश्वास व्यक्त गरिएको छ ।
आकासे पुलको योजनालाई इटहरीको छवि र गति दुवै बदल्ने आधारका रूपमा लिइएको छ । यो परियोजना सफल कार्यान्वयन भयो भने इटहरीले आधुनिक र सुरक्षित सहरी संरचनाको नयाँ अध्याय सुरु गर्ने स्थानीय व्यापारी रविन लम्सालले बताए ।
प्रतिक्रिया