प्रदर्शन उग्र बनेपछि नियन्त्रणमा लिन सुन्दरहरैंचामा हवाई फायर

शुक्रबार, १२ बैशाख २०८२

विराटनगर । दुर्घटनाका कारण मोरङको सुन्दरहरैँचा नगरपालिका–१ हरैँचा बजार शुक्रवार करिब ३ घण्टा तनावको चपेटामा पर्यो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको जनाएको छ । 

गिट्टी लोड गरेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो । विराटनगर–विराटचोक सडक खण्डमा ना १ क ६२७० नम्बरको टिपरले बिहान पछाडिबाट ठक्कर दिँदा प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकलमा सवार सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको ज्यान गएको हो । 

दुर्घटनापछि स्थानीयहरू आक्रोशित बनेर सडकमा ओर्लिएका थिए । शव सडकमै राखेर प्रदर्शन र ढुंगामुढा गर्न थालेपछि अवस्था तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन मोरङ प्रहरीका डीएसपीहरू वेदप्रकाश जोशी र मदन केसीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । 

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भिडको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि ९ राउण्ड हवाई फायर र ८ सेल अश्रुग्याँस प्रहार गरिएको जानकारी दिए । 

घटनास्थलबाट प्रहरीले टिपर हटाउन खोजेपछि स्थानीयले ढुंगामुढा गरेका थिए । स्थानीयले टिपरलाई आगो लगाउने प्रयास गरेका थिए । प्रहरीमाथि निरन्तर ढुंगामुढा गरे । जसका कारण मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशी घाइते समेत भएका छन् । 

उनलाई अनुहारमा चोट लागेको र अहिले विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको एसपी चिमरियाले बताए । जोशीको अवस्था खतरामुक्त रहेको छ । 

स्थानीयले सडकमा टिपरको दादागिरी बढेको गुनासो गरेका छन् । दुर्घटनामा संलग्न टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ । टिपर बारा घर भई हाल सुन्दरहरैँचा–१२ मा बसोबास गर्ने २५ वर्षीय पवन योन्जनले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको र अवस्था सामान्य बनेको छ । 

मृतकको शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि भेला भएको स्थानीयको भिडले शव सडकमै राखेर करिब ३ घण्टा जति प्रदर्शन गरेको थियो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार