मोरङका सीमा क्षेत्रमा संयुक्त टोलीको स्थलगत अनुगमन

शुक्रबार, १२ बैशाख २०८२

विराटनगर : भारतसँग सीमा जोडिएका मोरङका पूर्वी क्षेत्रहरूमा शुक्रबार संयुक्त अनुगमन गरिएको छ। अनुगमन टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले गरेका हुन्।

टोलीले बरडंगा, डोरिया, मिर्चाडाङी, कुटुम्गन्ज, सिक्टीलगायत सिमावर्ती स्थानहरूमा स्थलगत निरीक्षण गरेको छ। यस क्रममा स्थानीय सुरक्षा अवस्था, भौगोलिक स्थिति तथा जनजीवनका विषयमा प्रत्यक्ष जानकारी संकलन गरिएको थियो।

अनुगमन टोलीमा विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरे, तथा राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख तिलक प्रसाईं सहभागी थिए।

टोलीले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका युनिटहरूको भौतिक अवस्थाको निरीक्षण गर्नुका साथै सीमा स्तम्भहरूको अवस्था पनि अवलोकन गरेको छ। साथै, स्थानीय बासिन्दासँग छलफल गरी उनीहरूका सुझाव संकलन गरिएको प्रजिअ यादवले जानकारी दिए।

उनका अनुसार सीमामा बढ्दै गएका अवैध क्रियाकलाप, आपराधिक गतिविधि र मानव तस्करी नियन्त्रण गर्न तथा सीमा सुरक्षामा सुधार ल्याउन अनुगमन गरिनुका साथै भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग सहकार्य विस्तार गर्नेतर्फ समेत ध्यान दिइएको छ।

प्रजिअ यादवले सीमा क्षेत्रमा हुने गतिविधिमाथि निगरानी अझै कडाइका साथ गरिने र समस्या समाधानका लागि अनुगमनलाई नियमितता दिइने योजना रहेको बताए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार