इटहरी : इटहरी–२०, तरहरास्थित कसमस डिपार्टमेन्ट स्टोरमा पुनः म्याद नाघेका र ड्यामेज सामानहरू बिक्री हुँदै आएको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा उक्त तथ्य फेला परेको हो।
बजार क्षेत्रका आधा दर्जनभन्दा बढी पसल तथा डिपार्टमेन्ट स्टोरहरूको अनुगमन गर्दा कसमस डिपार्टमेन्टमा ड्यामेज भएका कस्मेटिक सामग्रीसहित केही अन्य उपभोग्य वस्तुहरू पनि बिक्रीका लागि राखिएको भेटिएको हो।
इटहरी उपमहानगर स्थित खाद्य प्रयोगशालाकी खाद्य निरीक्षक अनु अर्यालका अनुसार यसअघि पनि सोही डिपार्टमेन्टबाट म्याद नाघेका तथा ड्यामेज सामानहरू फेला परेका थिए।
“पहिलो पटक कैफियत भेटिँदा डिपार्टमेन्टलाई १० हजार रुपैयाँ जरिवाना गरिएको थियो,”निरीक्षक अर्यालले भनिन्“तर गल्ती दोहोरिएपछि यसपटक सञ्चालकलाई उपमहानगरपालिकामा उपस्थित भई स्पष्टीकरण दिन बोलाइएको छ।”
अर्यालका अनुसार बारम्बार गल्ती दोहोर्याउनेबारे निर्णय अनुगमन समितिको बैठकबाट हुने बताइएको छ।
अनुगमन टोलीले त्यस दिन तरहरास्थित धनलक्ष्मी सपिङ सेन्टर,तरहरा सपिङ सेन्टर,घिमिरे किराना स्टोर र न्यु लामा होटेलको पनि अनुगमन गरेको थियो।
न्यु लामा होटेलको किचनमा काम गर्ने कर्मचारीहरूले आप्रोन नलगाएको भेटिएपछि होटल सञ्चालकलाई चेतावनी दिइएको अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा,घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, इटहरी नगर प्रहरी लगायतको उपस्थिति थियो।
“सार्वजनिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी उपभोक्तालाई ड्यामेज सामान बिक्री गर्नु उपभोक्ता अधिकारमाथिको गम्भीर उल्लङ्घन हो,” प्रशासकीय अधिकृत खतिवडाले बताए, “हामीले बजार अनुगमनलाई नियमित बनाएका छौँ र गल्ती गर्नेहरूलाई आवश्यक कानुनी कारबाही गरिनेछ।”
इटहरी उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयबिचको सहकार्यमा बजार अनुगमनलाई अझ प्रभावकारी ढङ्गले निरन्तरता दिने तयारी रहेको पनि जनाइएको छ।
केही दिनअघि मात्र जिल्ला प्रशासन कार्यालय सुनसरीले चक्रघट्टी,प्रकाशपुर लगायतका क्षेत्रमा जिल्लाका विभिन्न क्षेत्रमा समेत अनुगमन गरेको थियो ।
प्रतिक्रिया