सुन्दरहरैँचामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, अवस्था तनावग्रस्त

लाठी र भाला लिएर सडकमा उत्रिए स्थानीय

शुक्रबार, १२ बैशाख २०८२

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय अवस्था तनावग्रस्त बनेको छ।

विराटनगर–विराटचोक सडकखण्डमा बिहान १०:५० बजे प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई ना १ क ६२७० नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो।

विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको  सो टिपरले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि आक्रोशित स्थानीयले सडकमा प्रदर्शन गर्दै टिपरमाथि आक्रमणको प्रयास गरेका छन्। प्रदर्शनकारीले मृतकको शव सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। उनीहरूले टिपर जलाउने प्रयास गरेका थिए भने हातमा लाठी, भाला लिएर सडकमा उत्रिएका छन्। प्रहरीको सुरक्षामा राखिएको टिपर घटनास्थलमै रहेको छ।

WhatsApp Image 2025-04-25 at 13.26.58_c56f404f

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको ठूलो उपस्थिति रहेको छ। भिड नियन्त्रण गर्न डीएसपी मदन केसी नेतृत्वको टोली परिचालन गरिएको छ। प्रहरीले सवारीसाधन डाइभर्ट गर्दै सडक खुलाउने प्रयास गरिरहेको भए पनि प्रदर्शनकारीले शव उठाउन नमानेपछि अवस्था अझै तनावग्रस्त बनेको छ।

स्थानीयले टिपरको तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएका छन्। उनीहरूले टिपरको दादागिरी बढेको भन्दै त्यसमा रोक लगाउन, मृतक परिवारलाई क्षतिपूर्ति दिन, चालकलाई कडा कारबाही गर्न माग राखेर प्रदर्शन गरिरहेका छन्।

प्रहरीका अनुसार गिट्टी लोड गरिएको टिपर कान्छाराम कन्स्ट्रक्सनको हो, जसलाई विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीका लागि प्रयोग गरिरहेका थिए। दुर्घटना गराउने टिपर चालक पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार स्थिति नियन्त्रणमा लिन थप प्रहरी बल समेत मगाइएको छ र प्रदर्शनकारीलाई सम्झाइबुझाइको प्रयास भइरहेको छ। यद्यपि, तनाव कायमै रहेको जनाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार