जनकपुर : मधेश प्रदेशमा रहेका औलो रोगका अधिकांश बिरामी आयातित रहेको पाइएको छ ।
विश्व औलो दिवसको अवसरमा शुक्रवार धनुषाको सपहीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशमा १ सय ३ जना औलो रोगका बिरामी रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
स्वास्थ्य निर्देशनालयका फुलेन्द्र यादवले प्रस्तुत गरेको तथ्याङ्क अनुसार औलो रोगका बिरामी सबैभन्दा बढी सर्लाही जिल्लामा रहेको छ । सर्लाहीमा ४८ जना बिरामी छन् भने सिरहामा यसको सङ्ख्या शून्य देखाएको छ ।
सिरहामा जाँच नगरेकाले बिरामीको सङ्ख्या शून्य रहेको फुलेश्वरले बताए । धनुषामा ८ जना, बारामा १४, रौतहटमा २२, पर्सा तथा सप्तरीमा ३÷३ जना र महोत्तरीमा पाँच जना बिरामी रहेका छन् ।
प्रदेशमा रहेका औलो रोगको बिरामी बढी भारतबाट फर्केकाहरू रहेका छन् । उनीहरू फर्किदा औलो रोग लिएर आउने गरेकाले मधेशमा यसको सङ्ख्या बढ्दै गएको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालयले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा.विपिन कुमार झाले औलो रोग केही दशक अघि नै निर्मूल भइसकेपनि आवासीय मजदुरहरूले गर्दा बिरामीको सङ्ख्या थपिएको बताए । उनले औलो रोग नियन्त्रणतर्फ भए पनि आयातित औलो मुख्य चुनौती भएको बताए ।
उनले भने, ‘अहिले पुष्टि भएका १०२ जना औलोका बिरामी प्राय सबै आयातित हुन् । भारत लगायत अन्य देशबाट फर्केर आएपछि औलोको अनिवार्य जाँच हुने र त्यही क्रममा रोग पुष्टि भएको हो, अन्यथा समुदायमा लोकल लेबलमा यो वर्ष औलोका बिरामी पुष्टि भएको छैन ।’ उनले आयातित केस रोक्न सके सन् २०२६ सम्म औलो निवारण गर्ने लक्ष्यमा पुग्न सकिने समेत जनाए ।
तराई क्षेत्रमा र गर्मी ठाउँमा रोगको प्रकोप हुने भनिए पनि अहिले जलवायु परिवर्तनका कारण लामखुट्टे सबैतिर देखिन थालेको हुँदा औलोका बिरामी देखिन थालेका छन् ।
हरेक वर्ष अप्रिल २५ तारिखका दिन औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले विश्वभर विविध कार्यक्रम गरेर विश्व औलो दिवस मनाउने गरिन्छ । ‘पुर्न लगानी, पुर्न सोच र पुर्नजागरणः हामीबाटै औलो निवारण’ नाराका साथ गरिएको कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक श्रवण नायकले औलो रोगको जाँच, उपचार र औषधी सबै निःशुल्क रहेकाले यसबाट आत्तिनुपर्ने कुनै आवश्यकता नरहेको बताए ।
औलो रोगको लक्षण देखिएमा स्वास्थ्य जाँच गराउन उनले सबैमा आग्रह समेत गरे । औलो रोगबारे व्यापक प्रचार गरेर जनमानसमा रहेको भ्रम चिर्न सकिने तर्क उनको थियो । औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका मेडिकल टेक्निसियन रामविनय साह, वरिष्ठ जनस्वास्थ्य प्रमुख डा. सतिशकुमार यादव, स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादव, तथ्याङ्क अधिकृत सुरेश यादव, ल्याब टेक्निसियन अधिकृत युगल किशोर यादव, राजकुमार दास, राजनारायण साह, विश्व स्वास्थ्य सङ्गठनका रञ्जित कुमार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया