काठमाडौं : सेवानिवृत्त प्रहरी महानिरीक्षक दीपक थापाको बिदाइ गरिएको छ । आज गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय आयोजित एक कार्यक्रमकाबीच सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई शुभकामनासहित बिदाइ गरेका हुुन् ।
प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै आगामी दिनमा पनि आवश्यकताअनुरूप राष्ट्रको सेवाका लागि थप महत्त्वपूर्ण योगदान गर्नुहुनेछ भन्ने शुभकामनासमेत व्यक्त गरेका हुन् ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुव्यवस्था, अमन चयन कायम गर्ने जस्तो महत्वपूर्ण र मुख्य जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवानिवृत्त जीवन अझ बढी स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना प्रदान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरूदण्डका रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवं सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया