काठमाडौं : नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाललाई बन्द गर्ने चेतावनीसहित आज राति १२ बजेसम्म ‘मेल’ को प्रतीक्षा गर्ने भएको छ।
फेसबुक, इन्टाग्राम, एक्स, लिंक्डइन, युट्युब, गुगल, जीमेललगायतका सञ्जाललाई सूचीकरण हुन भन्दै सरकारले गत बिहीबार सात दिनको अल्टिमेटम दिएको थियो। तर, आजसम्म कुनै पनि कम्पनीले नेपालमा सूचीकरणका लागि निवेदन दिएको छैन।
नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले भने, ‘‘अल्टिमेटम सकिँदैछ, तर कुनै कम्पनीले पनि दर्ता वा निवेदन दिएको छैन। मन्त्रालयका अधिकारीहरूले राति १२ बजेसम्म मेल आउँछ कि भनी कुर्नुभएको छ। मेल नआएपछि बन्द गर्नेबारे छलफल भए पनि अझै टुंगो छैन।’’
कुन–कुन सञ्जाल बन्द गर्ने भन्ने विषयमा भने सरकार आफैं अलमलमा परेको छ। गुगल सर्च र जीमेल प्रयोगकर्ता आफैं सरकार भएकाले यी सेवामाथि प्रतिबन्ध लगाउँदा दैनिक पत्रव्यवहार र कानुनी सवालसमेत प्रभावित हुने देखिएको छ। त्यसैले अत्यावश्यक सञ्जाल भने बन्द नहुने तर ‘अनावश्यक’ ठहरिएका केही सञ्जाल रोक्न सकिने संकेत गरिएको छ।
हाल नेपालमा भाइबर र टिकटक मात्रै सूचीकरण गरेर सञ्चालनमा छन्। बाँकी अधिकांश प्रयोगमा रहेका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, लिंक्डइन, युट्युब, एक्स लगायतका लोकप्रिय सञ्जाल भने सूचीकरण हुन अस्वीकार गरिरहेका छन्।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हालै राष्ट्रिय सभामा सम्बोधन गर्दै फेसबुकको मातृ कम्पनी ‘मेटा’लाई पटकपटक नेपालमा दर्ता हुन आग्रह गरे पनि कम्पनीले अस्वीकार गरेको बताएका थिए।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालले अनिवार्य रूपमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियम परिपालना निगरानी अधिकारी तोक्नुपर्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया